इटहरीका एक जना युवा मोबाइल कम्पनीको जागिर छाडेर उद्यमी बन्न चाहन्थे । विभिन्न सामाजिक सञ्जालमा आउने विनोद चौधरीको तार्किक र बौद्धिक भाषणबाट उनी प्रभावित थिए । सानो उद्यमबाट उनीले पनि एक दिन विनोद चौधरीजस्तै सफल व्यवसायी बन्ने सपना बुन्न थाले ।
एक दिन वाइवाई सिटी नुडल्सको चेन देशभर खुल्ने सूचना पाए । त्यो सूचनाबाट उनी हौसिए । एकातिर विनोद चौधरीबाट प्रभावित, अर्कोतिर चौधरी ग्रुपले खोल्न लागेको ‘वाइवाई सिटी नुडल्स’को चर्चा । अब यही नुडल्सको ‘आउटलेट’ पूर्वाञ्चलमा खोल्छु भन्ने निष्कर्षमा उनी पुगे । लगानीका लागि केही बैंक चाहारे । बैंकले पनि राम्रै हुन्छ सहयोग गर्छु भने ।
सन् २०१७ मा इटहरीको बैंक अफ काठमाण्डूबाट ऋण लिए । सन् २०१७ अक्टुबर १ तारिखमा सिजी रिटेल स्र्टन पेङयुनसँग व्यापारिक साझेदारीका लागि सम्झौता गरे । सम्झौताबमोजिम ७ वर्षको अवधिका लागि कोशी र मेचीमा ‘फ्रेन्चचाइज’ खोल्न ५८ लाख ५० हजार धरौटी बुझाए । ‘आउटलेट’ खोल्न थप ४०–५० लाख खर्च गरे ।
इटहरीमा आउटलेट राम्रोसँग सञ्चालनमा आयो । मुनाफाको ४ प्रतिशत रोयल्टी तिर्ने शर्त थियो । खुलेको ८–९ महिनामा कम्पनीले सामान पठाउन बन्द गरिदियो । समस्यामाथि समस्या थपियो । ७ वर्षको सम्झौता ७ महिनामै तोड्नुपर्ने अवस्था आयो र काठमाडौं आएर विनोद चौधरीसँग भेट भयो । चौधरीले विभिन्न कारणले वाइवाई सिटी नुडल्सको सोच स्थगित गर्नुपरेको बताउँदै धरौटी रकम फिर्ता गर्ने बचन दिए ।
त्यसपछि न चौधरीले फोन उठाए, न त कम्पनीका कर्मचारीले जिम्मा लिए । चौधरीका कारण घरबास उजाडिने भएपछि साथीभाइसँग सापटी लिएर बैंकको ब्याजसम्म तिरे । अब त ब्याज सापटी पनि कसैले दिँदैनन् । उल्टो साथीभाइले धम्क्याउँछन् । बैंकले घर जग्गा लिलामी गर्छु भन्छन् । यो समस्या सुनाएपछि निर्वाण चौधरीले पनि धरौटी फर्काउँछु भन्थे । अहिले रेसपोन्स गर्दैनन् । चौधरी ग्रुपका कर्मचारी कसैले जिम्मेवारी लिँदैनन् ।
प्रहरीमा गयो चौधरीको नाम सुन्नासाथ उजुरी दर्ता गर्न मान्दैनन् । उल्टो अदालत जाऊ भन्छ । नेपाली कांग्रेसका नेताहरुलाई भेट्यो आरजु राणालाई भन भन्छ । कहाँबाट आरजुलाई भेट्न पाउनु ? अरु कांग्रेसका युवानेतालाई भन्यो त्यो त ठग हो, तिम्रो पैसा दिँदैन भन्छन् । यो बिलौना हो इटहरीका युवा पुष्कर घिमिरेको । केही दिनअगाडि दृष्टि कार्यालयमा आएर उनले दुःखेसो पोखे ।
आँखाबाट आँसु झार्दै अब मैले आत्मदाह गर्नेबाहेक अरु बाटो देखिनँ । हिजो पनि फोनमा ललितपुर जिल्ला प्रहरीले जाहेरी दर्ता गर्न मानेन भनेर बताए । उनीसँग सिजी रिटेल स्र्टन पेङयुनसँग गरेको सम्झौता र त्यसलाई तिरेको धरौटीको भर्पाइ सबै छ । सम्झौताबमोजिम सिजी रिटेलले सामान दिन नसकेपछि आउटलेट बन्द भयो भयो, त्यसको भाडा र आउटलेट बनाउँदाको खर्चसमेत जोड्दा डेढ करोड पुगेको पीडित घिमिरेले बताए ।
इलाममा प्रेमप्रसाद आचार्य यस्तै समस्याका कारण संसद् भवन बाहिर आत्महत्या गरेको दुई महिना पनि नबित्दै चौधरीले घिमिरेलाई त्यो बाटोमा हिँड्न बाध्य बनाए । आत्मदाहपछि छानविन गर्नुभन्दा अगाडि नै प्रहरीले उनको उजुरी लिएको भए सहजीकरण हुन्थ्यो । दुवै पक्षलाई बोलाएर एउटा सहमति बन्थ्यो । त्यसैले मुद्दा दर्ता गर्न उनी हिजो दिउँसो ललितपुर जिल्ला प्रहरी कार्यालय पुगे । निराश भएर फर्किए ।
कानुन हातमा लिएर हिँड्ने शक्तिशाली व्यापारीहरुले जे गरे पनि हुने, निरीह जनताले जति पीडा भोगे पनि सहनुपर्ने बाध्यताले हाम्रो समाज कता जाँदैछ भन्ने चिन्ता बढाएको छ । डलर अर्बपति व्यापारीका रुपमा चिनिने चौधरीले युवाहरुलाई उद्यमी बन्न प्रेरित गर्दै आएका छन् । उनको युट्युब भाषण सुन्ने हो भने उनी जत्तिको बौद्धिक व्यक्तित्व नेपाली कांग्रेसमा भेटिन्नन् । तर नेपाली कांग्रेसका सांसदसमेत भएका चौधरीबाट एक युवाले आत्मदाहको सोच बनाउनु दुर्भाग्य हो ।
सत्यपाटी संवाददाता । काठमाडौं