सूचनाको शक्ति - The Power Of Information

        

साहित्य

उद्दीपक बनी

फुलेकी थुङ्गाझैँ कुसुमसरि राम्री गुणवती ।
भनून् श्री प्याराले चपलतम मेरी मनमती ।।
बदामी आँखामा अपलक मलाई घुरिरहून् ।
गुलाबी हाँसोका मृदु अधर हेरी कुरिरहुन् ।।

भिजुन् मस्तानाश्री शशिवदनमा सिञ्चित भई ।
बनोस् छुट्टै हाम्रो प्रणय सुखको त्यो पल सही ।।
फुलुन् दायाँ–बायाँ नव कुसुम उद्दीपक बनी ।
भुलुन् मेरा प्यारा त्यस समयमा साइत गनी ।।

म जाऊँ छेवैमा झन–झनन पारी मगजमा ।
म बोलुँ सारङ्गी धुन रनन पार्दै लवजमा ।।
लजाई लोलाऊन् खलखल निकालेर पसिना ।
बिहोसीझैँ होऊन् हृदयनिर देखेर हसिना ।।

सबै खेतीबारी वन डगर बाँझोपन नहोस् ।
बनौँ खुर्पेटाझैँ हरबखत सोझोपन नहोस् ।।
गरून् मस्ती धेरै प्रणयरज घोली तरहका ।
बनून् कामोद्वेगी अचलमय राजासरहका ।।

लजाएझैँ गर्दै करकमलले यो कद भरुन् ।
नसा घोल्दै भर्दै मदन रसिलो चुम्बन गरुन् ।।
लजाऊन् उड्दाका भ्रमर सब हेरी सुमनमा ।
बनौँ जोडी हामी अति असल उम्दा भुवनमा ।।

छचल्केको मायाँ छलछल भँगालाभरि बसुँ ।
फिँजाई कोल्ट्याई हतपत अँगालाभरि कसुँ ।
उनी मेरा ताता नरम धमनीमा फसिरहुन् ।
म उन्मादी होऊँ तर अझ मताई डसिरहुन् ।।

प्रकाशित मिति : २० फाल्गुन २०७९, शनिबार ११:०७