सूचनाको शक्ति - The Power Of Information

        

गर्मी बढेसँगै सल्बलाउन थाले सर्प

मौसममा परिवर्तन आएसँगै सर्लाहीमा सर्पहरू सल्बलाउन थालेका छन् । गर्मीमा सल्बलाउने सर्पले ग्रामीण बासिन्दालाई डस्न थालेको छ । बिहीबार सर्पको डसाइपछि उपचारको खोजीमा केन्द्रमा आएका ईश्वरपुर नगरपालिका–९ कासजन शर्मालाई उपचारपछि घर फर्काइएको लालबन्दी नगरपालिका–१ नेत्रगञ्जस्थित सर्पदंश उपचार केन्द्रले जनाएको छ ।

फागुन–१५ गते हरिवन नगरपालिका–१ का बसु गतौला सर्पदंशको सफल उपचारपछि घर फर्किए । ‘मौसममा विस्तारै आएको परिवर्तनसँगै सर्पको डसाइबाट घाइते भएका बिरामी बढ्न थालेका छन्,’ स्वास्थ्य सहायक अनिल कुशवाहले थपे, ‘सर्पको डसाइबाट घाइते भएका बिरामी समयमै उपचारका लागि केन्द्रसम्म आए शतप्रतिशत सकुशल घर फर्किने गरेका छन् ।’

पूर्वपश्चिम लोकमार्ग सडकखण्डमा पर्ने लालबन्दी नगरपालिका–१ नेत्रगञ्जस्थित सर्पदंश उपचार केन्द्रमा आव २०७७–०७८ मा ६३९ र त्यसपछिको २०७८–०७९ मा ७०९, २०७९–०८० को वैशाख–असारमा २७३, साउन–असोजमा ८८ र कात्तिक–पुस महिनामा ५३ बिरामी उपचारको खोजीमा आएको केन्द्रको तथ्याङ्क रहेको केन्द्रका अहेव प्रभु पण्डितले बताए ।

उनले भने, ‘माघ महिनामा चार र फागुन महिनाको हालसम्म पाँच जनालाई केन्द्रले उपचार सेवा प्रदान गरेको छ ।’ उनका अनुसार आव २०७०–०७१ मा एक जना बच्चा र २०६३–०६४ मा एक महिलाको केन्द्रमा उपचारका क्रममा मृत्यु भएको थियो । उनीहरू उपचारका लागि ढिलो आएका थिए । केन्द्रमा उपचारका लागि आएका सबै सकुशल घर फर्काईएका छन् ।

तथ्याङ्कअनुसार जाडो मौसममा भन्दा गर्मीयाममा सर्पदंशका घटना बढी हुने गरेको छ । मौसम तातिएसँगै सल्बलाउने सबै सर्प विषालु नहुने कुरा केन्द्रका स्वास्थ्य सहायक जगरनाथ यादवको भनाइ छ । चुरे पर्वती फेदी तथा भावर क्षेत्र र तराईका फाँटमा पाइने गनग्वारी गोमन, राजगोमन, कमन करेत, पनिया, राज, ह्यौ, बाँघे, तिरिसेजस्ता सर्प विषालु हुन्छन् ।

सिरिसे, सुगीया, इन्द्रेनी र उड्ने सर्प कम विषालु हुन्छन् भने डोरिया, हरहरा, तेलियाँ, धामन लगायत तराईमा पाइने १४ जातका सर्प विषालु नहुने बताइएको छ । गर्मी मौसममा सर्पको डसाइको जोखिम धेरै हुने भएकाले अँध्यारोमा टर्चलाइट, घाँस दाउरा गर्दा विशेष सावधानी अपनाउनुपर्ने उपचार केन्द्रका स्वास्थ्य सहायक कुशवाहको भनाइ छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७९, शनिबार ०८:५९