नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंक वित्तीय संस्थाबाट लिएको कर्जा नतिर्ने भन्दै दबाब समूह बनाउनु गलत भएको बताएका छन्।
शुक्रबार काठमाडौँमा भएको एक कार्यक्रममा बोल्दै डेपुटी गभर्नर मिश्रले पछिल्लो समय बैंकको ब्याजदर, लघुवित्त संस्थाका कर्मचारीमाथि कालोमोसो दल्ने, समूह बनाउने कामले समाज विभाजित गर्ने बताएका हुन्।
उनले व्यवसायीहरुले बैंक वित्तीय संस्थाबाट लिएको कर्जा दबाबसमूह बनाइ कालोमोसो दल्ने दस्ता बनाउँदैमा नतिरे पनि हुन्छ भन्ने परिकल्पना नगर्न चेतावनी दिए।
उनले बैंक वित्तीय संस्थाहरुले लगाएको कर्जा बैंक तथा वित्तीय संस्थाहरुको रकम नभएर जनताको पैसा भएको उल्लेख गरे। डेपुटी गभर्नर मिश्रले बैंक वित्तीय संस्थाबाट कर्जा लिनेहरुले कर्जा दिन्न भन्दा बैंकका निक्षेपकर्ताहरुले पैसा पाउन समस्या हुने बताए।
बैंक वित्तीय संस्थाबाट ऋण लिएर तिर्दिनँ भन्नेहरुलाई कसैले कुनै पनि क्षेत्रबाट प्रोत्साहन दिन नहुने उनको भनाइ थियो। साथै उनले बैंक तथा वित्तीय संस्थाहरुलाई व्यवसायीहरुले कर्जा दिन ढिला हुने, ब्याजदरका विषयमा राष्ट्र बैंकले वित्तीय संस्थाहरुसँग छलफल गरिरहेको बताए।
उनले व्यवसायीहरुको सम्पति बैंकहरुले लिलामी गर्न रोक्नेलगायतका विषयमा ऋणीहरुलाई बुझाउँदै आएको पनि उल्लख गरे। बैंक तथा वित्तीय क्षेत्रबाट खराब काम भएको थाहा पाउनेबित्तिकै राष्ट्र बैंकमा गुनासो गरे तत्काल कारबाही गर्ने उनको भनाइ छ।
उनले पछिल्लो समय लघुवित्त, ब्याजबारे बाहिर आइरहेका विषयमा जानकार रहेको बताए। उनले राष्ट्र बैंकले व्यवसायीहरुको हितको लागि केही सर्कुलर जारी गरेको भन्दै राष्ट्र बैंकले नीतिगत रुपमा गर्नसक्ने विषयमा के–के गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिरहेको पनि बताए।
सत्यपाटी संवाददाता । काठमाडौँ