विश्वविद्यालयमा
दिक्षित हुने विद्यार्थीको भिड थियो
उ गएन
किनकि उ फेल भएको थियो
र पास भएका विद्यार्थी मात्र दिक्षित हुन्छन् ।
उसले बोल्यो
‘टप गर्ने विद्यार्थी हरेक साल आउँछन्
परीक्षाको नियम नै त्यही हो
कोही न कोही प्रथम अवश्य हुन्छन्’
उसले परैबाट हेर्यो दिक्षान्त समारोह
दिक्षित भएर टोपी उडाइरहेका विद्यार्थी हेर्यो
आफ्नो प्रमाणपत्र जतन गरिरहेका विद्यार्थी हेर्यो
उसलाई पनि रहर लाग्यो
अनि पसल गएर किन्यो
एउटा टोपी ।
उसको टोपी विश्वविद्यालयले दिए सरह थिएन
तर उ त्यसैमा रमायो
टोपी उडाउने दिक्षित भिडलाई चुनौती दिँदै
उसले आफ्नो टोपी
हावामा उडायो
माथि पुर्यायो
हावाले उसको टोपी उडाएर
दिक्षित विद्यार्थीको समारोहमा पुर्यायो
दिक्षित विद्यार्थीको भिडले करायो
‘नक्कली टोपीदेखि सावधान
असली टोपी रोजौं’
उसले बोल्यो
‘टोपी किन्न खर्चेको पैसा चैट’
उसले पुनः भिडलाई हेर्यो
उभन्दा धेरै मुल्य तिरेर
विश्वविद्यालयको टोपी लगाएका विद्यार्थीलाई हेर्यो
अनि हाँस्यो ।
धार्मिक भक्तजनको हुल
जसले उसलाई अयोग्य घोषणा गरेको थियो
उनीहरूलाई पनि चाहियो
डिग्री, प्रमाणपत्र, र टोपी
उनीहरूको योग्यता उसको काव्य थियो
उसले ति विद्यार्थी हेर्यो
अनि बोल्यो
‘तिमीहरूको परीक्षा भएको छैन’
भिडलाई न परीक्षा मञ्जुर थियो
न त खोज, अनुसन्धान गरी प्रकाशन गर्ने कर्म
त्यसैले उसले मतलब गरेन ।
उसले ईश्वरको भक्ति गर्यो
अनि सोध्यो
‘हे ईश्वर, दिक्षित हुनु भनेको के हो ?’
तब ईश्वरले उसलाई बोले
‘आफ्नो गुरु दक्षिणा स्वीकार हुनु ।’
अर्जुन दाहाल । काठमाडौं