सूचनाको शक्ति - The Power Of Information

        

महिनावारी हुँदा धेरै पेट दुख्यो, अब के गर्ने ?

महिनावारी हुँदा कसैकसैलाई एकदमै धेरै पेट दुख्छ । महिनावारी भएको समयमा के खाने के नखाने भन्ने धेरैलाई थाहा नहुन सक्छ । घरमै बसेर महिनावारिको दुखाइलाई कम गर्ने केही उपायहरू यस्ता छन् ।

१. धेरै पानी पिउने – महिनावारीको समयमा धेरै रक्तश्राव भएर पेट दुखाई झन् बढ्न सक्छ । समयसमयमा पानि पिइरहने हो भने रक्तश्राव कम गर्न मदत गर्छ र यसले निम्त्याउने केही दुखाइलाई कम गर्न सक्छ । साथै, तातो पानी पिउनाले शरीरभरि रगतको प्रवाह बढाउन सक्छ र मांसपेशीहरूलाई आराम दिन्छ ।

२. हर्बल चिया खाने – हर्बल चियामा एन्टी–इन्फ्लेमेटरी गुणहरू हुन्छन् जसले गर्भाशयमा मांसपेशीको ऐंठनलाई कम गर्न मदत गर्छ । महिनावारीको समयमा अदुवाको चिया पिउनु पनि दुखाइ कम गर्ने एक सजिलो र प्राकृतिक तरिका हो । साथै हर्बल चियाहरूले तनाव राहत र निदाउन समेत सहज बनाउछन् ।

३. एन्टी–इन्फ्लेमेटरी खानाहरू खाने – एन्टी–इन्फ्लेमेटरी खानाहरूले रक्त प्रवाहलाई सन्तुलन गरी पेटलाई आराम गर्न मद्दत गर्न सक्छ । जामुन,टमाटर, बेसार, अदुवा वा लसुन जस्ता मसलाहरू खाने प्रयास गर्नुहोस् । हरियो सागसब्जी, बदाम, माछा, जस्ता चिजले पनि पेट दुखाइ कम गर्न सक्छ ।

४. धेरै गुलियो र नुनिलो खाने कुरा नखाने – धेरै गुलियो र नुनिलो खाने कुराले रक्तश्राव बढाउछ, जसले मांसपेशीको दुखाइ र पेट दुखाइलाई अझ खराब बनाउँछ ।

५. हट ब्यागको प्रयोग गर्ने – तातोले मांसपेशीहरूलाई आराम गर्न, रक्त प्रवाह सुधार गर्न र तनाव कम गर्न मद्दत गर्दछ । हट ब्यागले सेकाउनुको साथै तातो पानीमा नुहाउने वा तातो पानीमा खुट्टा डुबाएर बस्दा पनि दुखाइ कम हुन्छ ।

६. व्यायाम – व्यायामले मांसपेशीहरूलाई आराम दिन्छ र दुखाइ कम गर्छ । महिनावारीको समयमा पन्ध्र मिनेटको हल्का योगा, स्ट्रेचिङ वा हिंड्नु फाइदाजनक हुन्छ ।

७. तनाव कम गर्ने – तनावले दुखाइलाई अझ खराब बनाउन सक्छ । आफ्नो आँखा बन्द गरेर, गहिरो सास लिने गर्नुपर्छ ।

८. धुम्रपान र मद्यपान नगर्ने – धुम्रपान र मद्यपानले दुखाइ बढाउन सक्छ । साथसाथै टाउको दुख्ने, रिस उठ्ने समेत हुन सक्छ ।

९. रातो मासु नखाने – महिनावारीको समयमा शरीरले प्रोस्टाग्ल्यान्डिन उत्पादन गर्छ । प्रोस्टाग्ल्यान्डिनले पाठेघरलाई संकुचित गर्न र दुखाइ बढाउन मदत गर्छ । रातो मासुमा आइरनको मात्रा धेरै हुन्छ, यसमा प्रोस्टाग्ल्यान्डिन पनि उच्च हुन्छ त्यसैले रातो मासु खानु हुन्न ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहीबार १७:४२