सूचनाको शक्ति - The Power Of Information

        

कोभिड–१९ को अध्ययन अझ पेचिलो

एफबीआईको दाबी, ‘चिनियाँ ल्याबमै कोरोना उत्पत्ति’

कोरोना भाइरसको उत्पत्तिबारेको अध्ययन अझ पेचिलो बन्ने छ । केही दिनमा वैज्ञानिकले केही नयाँ रहस्य पत्ता लगाउन सक्ने छन् ।

फेडरल ब्युरो अफ इन्भेस्टीगेसन (एफबीआई)का निर्देशक क्रिस्टोफर रेले कोभिड–१९ को उत्पत्ति सरकार नियन्त्रित चिनियाँ ल्याबबाटै भएकोमा आफू विश्वस्त रहेको बताएका छन् । अमेरिकाको प्रतिष्ठित सञ्चार माध्यमसँगको कुराकानीमा रेले ब्युरोको बुझाइमा कोभिड–१९ प्रयोगशालामा भएको दुर्घटनाका कारण सिर्जत महामारी भएको बताएका हुन् ।

कोरोना भाइरस कसरी उत्पत्ति भयो ? भन्ने बारेमा एफबीआईको यो पहिलो आत्मविश्वासको साथ सार्वजनिक भएको अभिव्यक्ति हो । धेरै वैज्ञानिक भने ल्याबबाटै यो बाहिर निस्किएको कुरामा कुनै आधार नभएको बताउन थालेका छन् । त्यसो त एफबीआईको यो धारणामा अमेरिकाका अन्य निकायको धारणा सार्वजनिक हुन बाँकी नै छ ।

जनावरबाट मानिसमा सरेको तर्कलाई पनि पूर्णरूपमा अस्वीकार भने गरिएको छैन । ह्वाइट हाउसले बारम्बार कोरोना भाइरसको उत्पत्तिबारे आफ्नो देश बाहिर भएको कुनै पनि छानबिनलाई स्वीकार गर्न नसकिने जनाएको छ । विश्व स्वास्थ्य सङ्गठन र चीन मिलेर सन् २०२१ मा गरेको अनुसन्धानले ल्याबबाट भाइरस लिक भएको सम्भावना न्यून भएको ठहर गरेको थियो ।

पछिल्लो समय डब्लूएचओले कोरोना भाइरसको उत्पत्ति बारेका सबै सम्भावना खुला रहेको जनाएको छ । चीनका लागि अमेरिकी राजदूतले कोरोना भाइरसको उत्पत्ति बारे चीन इमानदार हुनुपर्ने धारणा राखेको एक दिनपछि रेको अभिव्यक्ति सार्वजनिक भएको हो । मंगलबारको अन्तरवार्तामा भने रेले चीनले कोरोना भाइरसको उत्पत्तिको छानबिन उत्कृष्ट ढङ्गले गरिरहेको बताएका थिए ।

तर, अमेरिका मात्र होइन संसारका धेरै देश उत्पत्तिका बारे चीनले बाहिर कुरा ल्याउनेमा सशङ्कित छन् । रेले इमर्जेन्सी रुपमा एफबीआईले अनुसन्धान गरिरहेको र लामो समयपछि यो सम्भावनाको नजिक पुगेको बताएका हुन् । एफबीआईको धारणा सार्वजनिक भएपछि बेइजिङले अमेरिका राजनीतिक विषयान्तर गर्न चाहेको बताएका छन् ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ नीङले यस विषयलाई आधारहीन र मनोगत भएको प्रतिक्रिया दिएका छन् । सी फुड र वाइल्ड लाइफ बजारका लागि परिचित चीनको हुवानमा जनावरबाट मानिसमा सरेर कोरोना सङ्क्रमण यसरी संसार भर फैलिएको धेरै जना बताउँछन् । त्यो बजार संसारकै ठूलो भाइरस प्रयोगशालाको नजिक छ ।

त्यसै प्रयोगशालामा कोरोना भाइरसबाट अहिले अध्ययन भइरहेको छ । केही दिनअघि अमेरिकी ऊर्जा विभाग पनि भाइरसका ल्याबबाट नै चुहिएको कुरामा सहमत रहेको बताउँदै यसलाई पुष्टि गर्ने थप आधार फेला पार्न अझ केही दिन लाग्नसक्ने जनाएको थियो । सोही समयमा विभागले अध्ययनलाई जारी राख्ने जनाएको थियो ।

ऊर्जा विभागले आफ्नो कुरा सार्वजनिक गर्दै धेरै वैज्ञानिकले ल्याबबाट नै कोरोना बाहिर आएको कुरामा हालै थप केही आधार फेला परेको बारे कुनै जानकारी नभएको प्रतिक्रिया दिएका थिए । ग्लास्गो विश्वविद्यालयका भाइरल जेनोमिक्स तथा बायो इन्फर्मेटिक्सका प्राध्यापक डेभिड रोबर्टसनले प्राकृतिक रूपबाट नै कोरोना उत्पत्ति भएको सम्भावना बलियो भएको बताएका छन् ।

उनले मानिसको बीचमा चमेराको उपस्थिति पछि नै भाइरस फैलिएको केही आधार सञ्चय गरेको बताएका छन् । हुवानको ल्याब नजिकै चमेरा पाइने बजार पनि छ । त्यसै बजार जिम्मेवार रहेको तथा प्राकृतिक रूपमा नै यो सिर्जित भएको कुरामा आफ्नो मत रहेको उनले बताएका छन् ।

सोमबार मात्र ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन कर्बीले कोभिडको उत्पत्ति कसरी भएको भन्ने कुरा पत्ता लगाउन अमेरिकी राष्ट्रपति जो वाइडेनले सम्पूर्ण शक्ति लगाउने कुरा जानकारी गराएका थिए । उनले अध्ययन मात्र गर्न नभई अमेरिकी नागरिक र संसद्लाई यस विषयमा जानकारी गराउन पनि ती सबै कुरा आवश्यक रहेको बताउँछन् ।

स्पाइ बालोन प्रकरणले दुई देशबीचको सम्बन्ध बिग्रिरहेको समयमा यो विषय बाहिर आएको हो । चिनियाँ कम्युनिस्ट पार्टीको शासकीय शैलीका बारे अमेरिकी विधायकको द्विपक्षीय प्यानलले यो महिना श्रृखंलाबद्ध रूपमा यस विषयमा बहस चलाएको थियो । संसद्को पहिलो सत्रमा मानव अधिकार तथा चिनियाँ उत्पादनमा अमेरिकी अर्थतन्त्रका बारे बहस भएको थियो ।

चीनको हुवानबाट कोरोना भाइरस फैलिएको तीन वर्ष नाघेको छ । यस तीन वर्षमा यसको उत्पत्तिको विषय अझै रहस्यमय नै छ । एफबीआईको दाबी अनुसार सहरमा रहेको बायोलोजीकल रिसर्च सुविधा अन्तरगत यो सबै भएको हो ।

हुवानको इन्स्टिच्युट अफ भाइरोलोजीले दशक अघिदेखि नै चमेरोमा कोरोना भाइरसको विषयमा अध्ययन गरी रहेको थियो । सवारी सधानमा ४० मिनेटको दूरीमा हुवानको बजार छ । जहाँ पहिलो पटक क्लस्टरमा कोरोना भाइरस देखा परेको थियो । यो नै हुवान इन्स्टिच्युट अफ भाइरसको ल्याबबाट निस्किएको विषयको सबैभन्दा बलियो र भरपर्दो आधार हो ।

धेरैले प्राकृतिक रूपले नै यसको उत्पत्ति भएको विषयमा आफ्नो मत राखे पनि तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जैविक हतियार निर्माण गर्ने प्रयासमा ल्याबबाट यो निस्किएको कुरा उठाएका थिए । संसारका सञ्चार माध्यममा पनि यस विषयमा मत विभाजित थियो ।

धेरै वैज्ञानिकले सोही समयदेखि कुनै पनि विषय पुष्टि गर्नका लागि थप आधार नभएको बताएका छन् । अमेरिकी इन्टलीजेन्सका अनुसार हुवानको ल्याबका बारे तीन भिन्न अध्ययन भएका छन् । ती तीन वटै अनुसन्धानको आधारमा ल्याबबाट निस्किएको आधार बलियो भएको उनीहरूको मत हो ।

अमेरिकी भाइरोलोजिस्ट एन्थोनी फाउसी यसका बारे अझ धेरै अध्ययन जरुरी रहेको बताउँछन् । अबका केही अध्ययनले सही निष्कर्ष निस्किन सक्ने उनको धारणा छ । यस अघि २०२१ को मेमा नै फाउसीले हुवानको ल्याबका बारे अझ धेरै अध्ययन जरुरी रहेको बताएका थिए ।

सन् २०२० मा कार्यालयमा प्रवेश गर्ने बित्तिकै राष्ट्रपति वाइडेनले कोरोना भाइरसको उत्पत्तिका विषयमा भएका अध्ययनको फाइल आफूले चाहेको बताएका थिए । उनको पनि चासोको विषय यो ल्याबबाट उत्पत्ति भएको तथा जनावरबाट सरेको भन्ने नै हो । यसको अध्ययन हुँदै गएपछि धेरै वैज्ञानिकका लागि पनि उत्तर पाउनुभन्दा बढी प्रश्न उब्जन थालेका छन् ।

कोरोना महामारी चलिरहेकै समयमा सन् २०२१ को सुरुवातमा विश्व स्वास्थ्य सङ्गठनले अध्ययनका लागि वैज्ञानिकको एउटा समूह हुवान पठाएको थियो । १२ दिन हुवानमा बिताएको सो समूहले ल्याबमा बनेको सम्भावनालाई न्यून ठहर गरेको थियो । सोही समयमा धेरै वैज्ञानिकले उनीहरूले पत्ता लगाएको विषयमा प्रश्न उठाएका थिए ।

ती वैज्ञानिकले गम्भीरता पूर्वक काम नगरेको आरोप लगाएका हुन् । वैज्ञानिकका बीचमा लामो समयदेखि मान्यताको विषयमा बहस हुँदै आएका छन् । मानिसले चमेरोसँग संसर्ग गरेको भन्ने तर्क तथा ल्याबबाट उत्पत्ति भएको भन्ने दुवै विषयभन्दा फरक सम्भावनाको बारे पनि कुरा हुन थालेका छन् । मानिस र विज्ञानको अनुपस्थितिमै चमेरोबाट उफ्रेर यो मानिसमा सरेको हुनसक्ने एउटा अनुमान पनि वैज्ञानिकको छ ।

कोभिड उत्पत्तिको सुरुवाती समयसम्म यसैलाई आधार मानिए पनि कोभिड बन्ने जेनेटिक किसिमको भाइरस चमेरो र अन्य जनावरमा नभएको तथ्य फेला परेको हो । यो बहसको टुङ्गो लाग्न धेरै समय लाग्न सक्ने छ । तर रेको यो अभिव्यक्तिको तात्पर्य के हो भने कोरोना भाइरसको उत्पत्तिबारेको अध्ययन अझ पेचिलो बन्ने छ । केही दिनमा वैज्ञानिकले केही नयाँ रहस्य पत्ता लगाउन सक्ने छन् ।

स्रोत : बीबीसी, न्यूयोर्क टाइम्स
प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहीबार १७:१२