सूचनाको शक्ति - The Power Of Information

        

सरकारी वनमा बनाएका ५५ घरटहरा हटाइयो

वन डिभिजन कार्यालय बाँकेले वन अतिक्रमण गरेर बनाइएका घरटहरा भत्काउने कार्य सुरु गरेको छ । डिभिजन कार्यालयका सहायक वन अधिकृत गणेश खड्काले सरकारी वन अतिक्रमण गरी बनाइएका ५५ घर संरचना भत्काइएको बताए ।

जिल्लाको राप्तीसोनारी गाउँपालिकाको झगडिया गाउँ नजिकै रहेको हुलाकी सडकको छेउका ५५ अवैध घरटहरा भत्काइएको छ । सर्वदलीय बैठकको निर्णयअनुसार १० दिने सूचना जारी गरेर ती घरटहरा भत्काइएको जानकारी उनले दिए । उनले राप्ती नदीपूर्व पर्ने हुलाकी सडक छेउका धेरैजसो सरकारी वन क्षेत्र अतिक्रमणको चपेटामा परेको बताए ।

कोहलपुर सब–डिभिजन वन कार्यालय अन्तर्गतको कोहलपुर–८ स्थित शीतलछाया सामुदायिक वन, कोहलपुर–७ स्थित आस्था सामुदायिक वन, कोहलपुरको विन्ध्यवासिनी सामुदायिक वन, बागेश्वरी सामुदायिक वन, ज्योति सामुदायिक वन र वैजनाथ गाउँपालिकाको खैरेनी सामुदायिक वन, प्रगतिशील सामुदायिक वन क्षेत्रमा पनि अतिक्रमण गरी घरटहरा निर्माण गरिएका छन् ।

सो अतिक्रमण २०५८ सालदेखिको भएको जनाइएको छ। सिक्टा सब–डिभिजन वन कार्यालय अन्तर्गत राप्तीसोनारी गाउँपालिकाको वडा नं १, ३, ४ स्थित रामजानकी, बागेश्वरी, लामीडाँडा, गाइलेख, सुनधारा सामुदायिक वनको जग्गा पनि अतिक्रमण भएको छ । त्यहाँ अतिक्रमण भएको वन करिब ४२ हेक्टर रहेको छ ।

नरैनापुर सब–डिभिजन वन कार्यालय अन्तर्गत वडा नं १, २, ३, ४, ५, ६ का किसान, झरनिका, गाजी, शान्ति, समीर, सदाबहार लगायत नामका सामुदायिक वनको करिब १७५ हेक्टर क्षेत्रफलको वन अतिक्रमण भएको छ । नेपालगन्ज सब–डिभिजन वन कार्यालय अन्तर्गत डुडुवास्थित हजरत, झोरा, वभनपुर्वा सामुदायिक वनको करिब ३२ हेक्टर क्षेत्रफलमा अतिक्रमण भएको छ ।

राप्ती सब–डिभिजन वन कार्यालय अन्तर्गत समयभवानी, सुनखोली, सिद्धेश्वरी, कर्णेराज, राप्तीपीडित, भगवती, कुसुमिया, सिद्धबाबा लगायत सामुदायिक वनको करिब १९० हेक्टर क्षेत्रफल अतिक्रमण भएको छ । शमशेरगन्ज सब–डिभिजन वन कार्यालय अन्तर्गत हरियाली, जनकल्याण, हरलाफाटा, सिद्धसाई कुमारी, दुर्गा भवानी, जनमुखी, कोटहीदेवी, मधु सामुदायिक वनको करिब ३० हेक्टर क्षेत्रफलमा अतिक्रमण भएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहीबार १६:११