सूचनाको शक्ति - The Power Of Information

        

कमलको जरा : आम्दानी, अचार र ‘जण्डिस’को अचुक औषधि

लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्लामा रुकुम पूर्वमा रहेको सुन्दर पर्यटकीय स्थल कमलतालमा यतिबेला कमलका जरा निकाल्ने क्रमले तीब्रता लिइरहेको छ । कमलफूलका जरा निकाल्ने कामले स्थानीयलाई आम्दानी दिएको छ भने ग्राहकले अचार र औषधिको रुपमा उपभोग गर्न पाएका छन् । मौसममा एक महिनाको अवधि राखेर जरा निकाल्न थालिएपछि अहिले कमलको जराको माग बढेको छ ।

जिल्लाको मुख्य पर्यटकीयस्थल समेत रहेको कमलतालमा माघ २५ गतेदेखि जरा निकाल्न सुरु गरिएको हो । सिस्ने गाउँपालिका–५ स्थित कमलतालबाट जरा निकाल्ने काममा सहजीकरण गर्न गाउँपालिकाले यस वर्ष स्थानीय कमलदह संरक्षण केन्द्रलाई जिम्मा दिएको छ । अघिल्ला वर्षमा भने गाउँपालिकाले ठेक्कामा दिने गरेको थियो । कमलदह संरक्षण केन्द्रका महासचिव देवबहादुर हमालले तालबाट जरा निकाल्ने काममा समन्वय गरिरहेको बताए ।

यस पटकको सिजनमा एक महिना मात्र जरा निकाल्न मिल्ने सूचना जारी गरेकाले पछिल्लो समय जरा किन्न आउनेहरुको संख्या बढिरहेको उनले बताए । स्थानीय र जिल्ला बाहिरबाट समेत आएकाहरुले तालबाट स्थानीय युवाहरुले जरा निकाल्ने बितिक्कै किनेर लैजाने गरेको उनले जानकारी दिए । शुरुका दिनमा ५७ जना युवाले जरा निकालेका थिए भने पछिल्लो समय दैनिक १५ देखि २० जना युवाले तालबाट जरा निकाल्ने गरेका छन् ।

केन्द्रले जरा निकाल्नको निम्ति पुरुषबाट दैनिक ६०० र महिलाबाट ४०० रुपैयाँ राजश्व संकलन गरिदिने गरेको महासचिव हमालको भनाइ छ । गत वर्ष कमल संरक्षणका लागि भन्दै जरा निकाल्न बन्देज लगाइएको थियो । चिसोको प्रवाह नगरेर आम्दानीको लागि स्थानीय युवाहरुले तालभित्र डुबुल्की मारेर जरा निकाल्ने गरिरहेका छन् । स्थानीय सुमन बिकले एक पटकमा एक घण्टाजति तालमा डुबुल्की मार्दै उत्रिँदै गरेर कमलको जरा निकाल्ने गरेको बताए ।

तालभित्रको हिलोमा रहेको जरा निकाल्न निकै चुनौतीपूर्ण रहेको उनको अनुभव छ । सिजनमा स्थानीयस्तरमै आम्दानी गर्न सकिने भएकाले आफूहरुले नियमानुसार जरा निकाल्ने गरेको उनीहरुको भनाइ छ । सिस्ने गाउँपालिका–५ कै बिपिन बिकले एक दिनका बढीमा चार पटकसम्म तालमा गएर जरा निकाल्ने गरिएको जानकारी दिए । उनले पनि एक पटकमा चार हजार रुपैयाँसम्मको जरा निकाल्न सकिने बताए ।

तालबाट निकाल्ने बित्तिकै तालको छेउमा आएका ग्राहकहरुसँग संख्या हेरेर मोलमोलाई हुने गरेको छ । ‘तौल गर्नुपरेको छैन,’ बिकले भने, ‘चिसोमा डुबेर गरेको मेहनत हेरेर ग्राहकहरुले समझदारीमा मूल्य दिने गरेका छन् ।’ यसरी सिजनको बेला कमल निकाल्ने एक जना युवाले दैनिक पाँच हजारदेखि १० हजारसम्म आम्दानी गर्ने गरेका छन् । स्थानीयले जराको चाना बनाएर आफन्तलाई कोशेलीको रुपमासमेत पठाउने गर्छन् ।

नेपालगन्ज उपमहानरपालिका–७ की बिर्मी परियारले अचार खान र सुकाएर औषधिको रुपमा प्रयोग गर्न आफूले चार हजार रुपैयाँको कमलको जरा किनेको बताइन् । मामाघर आएको बेलामा मौकाले कमलका जरा किन्ने अवसर मिलेकोमा उनी दंग छिन् । तत्कालको निम्ति अचार र चाना बनाएर पछिसम्म औषधिको रुपमा कमलका जरा प्रयोग गर्ने गरिएको छ । कमलका जराको नियमित उपयोगले ‘जण्डिस’ रोगका बिरामीहरुलाई फाइदा पुग्ने बताइन्छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहीबार १०:१३