उसले स्वस्थानी महात्म्य पढ्यो
अनि त्यहाँ पढ्यो
सतीदेवीको पतन भएको ठाउँमा
पिठ उत्पति भएका
महादेवका विभिन्न स्वरूप
शिवशक्ति स्वरूपले रहेका
जहाँ विभिन्न पात्रले आएर तपस्या गरे
अनि ईश्वरीबाट वरदान प्राप्त गरे ।
उ कुनै समय गाँजा खाने व्यक्ति थियो
त्यतिबेला तुरुन्तै आफ्नै पिठ बनायो
जहाँ सतीदेवीको अङ्ग पतन भएको थिएन
जहाँ कसैले तपस्या गरेनन्
अनि गाँजालाई तोप भनिने चलन अनुसार
उसले आफ्नो पिठमा उत्पति भएका महादेवको नाम राख्यो
तोपेश्वर महादेव
जो शिव शक्ति स्वरुपमा पनि थिएनन् ।
उसले महादेवको भाव पढ्यो
गुरु बनायो
एकलव्य सरी
अनि आफ्नो साहित्यमा चलन चलायो
तोपेश्वर महादेवको नामले ।
एक हुल भक्तजन आए
महादेवको निन्दा भयो भन्दै
उसले मतलब गरेन ।
धर्म शास्त्र अनुसार
महादेव पशुको भेषमा
पशुसँग पनि विहार गर्थ
आफ्नो विहारीपनले
कालान्तरमा
जब पाण्डवहरू स्वर्ग जाने तरखर गर्दै थिए
तब महादेवले दर्शन दिए
पशुको रुपमा
पशु जमीनबाट निस्किए
पुच्छर भएको ठाउँ
भारतको केदारनाथ भएर चिनिए
शिर भएको ठाउँ
नेपालको पशुपतिनाथ नामले चिनिए ।
अनि धर्मले घोषणा गर्यो
महादेव भएको ठाउँ
पाशुपात क्षेत्र ।
उसलाई पनि त्यसरी नै अलंकार चढाउने इच्छा भयो
अनि सोच्यो
के ले अलंकृत गर्ने भनी
उसँग केही थिएन
त्यसैले रोज्यो शब्द
अनि घोषणा गर्यो
पाण्डव हरुले महादेवलाई
पशुपति बनाए
उसले महादेवलाई ठालुहरुका पति बनायो
अनि बोल्यो
ठालुपति महादेव ।
यो अलंकारले उसले महादेवलाई सजायो ।
अब थोरै बुझौं ठालु शब्दको बारेमा ।
झट्ट सुन्दा नराम्रो सुनिए पनि
ठालु शब्द नराम्रो होइन
शब्दकोशले कसरी व्याख्या गरेको छ
त्यो विज्ञनै जानुन्
तर दैनिक जीवनमा ठालु त्यस्ता व्यक्तिलाई भनिन्छ
जो अल्छी भए पनि धुर्त र चलाख छ ।
ठालु शब्द सभ्य छैन, तर असभ्य पनि होइन
ठालु शब्द सत्य होइन, तर असत्य पनि होइन
ठालु शब्द कर्म नगर्ने होइन, तर अल्छिपना पनि छोड्दैन
ठालु शब्द धार्मिक होइन, तर अधर्मले छोएको पनि छैन ।
ठालु शब्द
अल्छि, धुर्त र चलाखको सम्मिश्रण हो ।
उसले बोल्यो
ठालुपति महादेवको जय
अनि घोषणा गर्यो
तोपेश्वर महादेव भनेका
ठालुपति महादेव हुन्
गडफादर हुन् ।
यस संसारमा ठालु हरुको कमी छैन
त्यसैले महादेव
सम्पूर्ण ठालुहरुका पति भए ।
रावणले पनि ताण्डव
समर्पण गरेको थियो
उसले पनि अलंकार
समर्पण गर्यो गुरु दक्षिणा सरह
अनि बोल्यो
उ महादेवको भक्ति कहिल्यै गर्ने छैन ।
अर्जुन दाहाल । काठमाडौं