सूचनाको शक्ति - The Power Of Information

        

पश्चिमी र स्थानीय वायुको प्रभाव

मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना, प्रि-मनसुनमै कम वर्षा

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहनुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

बिहीबार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै शुक्रबार प्रदेश नं १ मा आंशिकदेखि सामान्य बदली रहनुका साथै देशका बाँकी पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रि–मनसुनमै सरदरभन्दा कम वर्षा

हिजोदेखि यो वर्षको हिउँदयाम सकिएर देशभरी नै प्रि–मनसुन सुरु भएको छ । हिजो (मार्च १) देखि सुरु भएको प्रि–मनसुन तीन महिनासम्म रहने र त्यसपछि मनसुन सुरु हुने मौसमविद् मञ्जु बासीले बताएकी छन् ।

यस वर्ष हिउँदमा १४ वर्षयताकै कम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हिउँदयाम सकिने बेलामा केही दिनअघि काठमाडौं, पोखरासहित केही ठाउँमा हल्कादेखि सामान्य वर्षा भएको थियो ।

प्रि–मनसुनको समयमा मेघगर्जन र चट्याङका साथै हावाहुरी र असिना पानीको सम्भावना रहने छ । यो वर्षको प्रि–मनसुनमा पनि सरदरभन्दा कम वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले यो प्रि–मनसुन अवधीमा पनि सरदरभन्दा कम वर्षा हुने आंकलन गरिएको जनाएको छ ।

सरदर वर्षा भन्नाले कुनै केन्द्रमा मापन गरिएको तीस वर्षको औसत वर्षालाई जनाउने विभागको भनाइ छ । विभागले लामो समय खडेरी हुँदा वन डढेलो, पानीको मुहान सुक्ने, वायु प्रदूषण बढ्नेजस्ता विपद्का घटना घट्न सक्ने भएकाले सचेत रहन पनि आग्रह गरेको छ ।

यो वर्षको हिउँदयाममा पनि औसतभन्दा कम वर्षा भयो । विभागले यसलाई खडेरी भनेको छ । सरदर वर्षाको ७५ प्रतिशतभन्दा कम भएमा खडेरीको अवस्था हुन्छ । यो वर्ष जम्मा सरदर वर्षाको २१.५ प्रतिशत मात्र भएको विभागले जनाएको छ ।

यसैबीच, हिउँदयाम सकिएसँगै देशभर प्रि–मनसुन सुरु भएको छ । मार्च १ बाट सुरु भएको प्रि–मनसुन तीन महिनासम्म रहन्छ । प्रि–मनसुनको अवधि मार्च, अप्रिल र मेसम्म रहन्छ र त्यसपछि मनसुन सुरु हुन्छ । प्रि–मनसुनको समयमा दिउँसो मेघगर्जन तथा चट्याङका साथै हावाहुरी र असिना पानीको सम्भावना उच्च रहने विभागले जनाएको छ । यो मौसमी प्रणालीमा स्थानीय वायुको प्रभाव धेरै हुन्छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहीबार ०६:३१