सूचनाको शक्ति - The Power Of Information

        

आठ दलीय गठबन्धनमा दुई दलीय सरकार !

एमालेसहित सात दलको समर्थनमा प्रधानमन्त्री बनेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले आठ दलीय गठबन्धनका प्रधानमन्त्री बनेका छन् ।

फागुन १३ मा राष्ट्रपतिको उम्मेदवारी दिने अघिल्लो दिन प्रधानमन्त्री प्रचण्ड आठ दलीय गठबन्धनमा सामेल भएका हुन् । प्रधानमन्त्री प्रचण्ड आठ दलीय गठबन्धनका प्रधानमन्त्री भए पनि सरकारमा भने दुई दलमात्र छन् ।

सरकारमा अहिले प्रधानमन्त्री प्रचण्ड अध्यक्ष रहेको माओवादी केन्द्र र जनमत मात्रै सहभागी छन् । राष्ट्रपति निर्वाचनलाई लिएर सत्ता समिकरण फेरिएसँगै सरकारमा दुई दल मात्र रहेका हुन् ।

राष्ट्रपति निर्वाचनलाई लिएर सरकारको नेतृत्वकर्ता दल माओवादी कांग्रेस नेतृत्वको गठबन्धनमा जोडिन पुगेपछि पुस १० मा बनेको गठबन्धनका साझेदार दल नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले सरकार छोडेपछि सरकारमा दुई दलमात्र बाँकी रहेका हुन् ।

पुस १० मा बनेको एमाले नेतृत्वमा बनेको गठबन्धनमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी, जनमत र नागरिक उन्मुक्ति पार्टी रहेका थिए । त्यसमध्ये जसपा र नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी भैसकेका थिएनन् ।

तर माओवादी, एमाले, रास्वपा, राप्रपा र जनमत गरी चार दल सरकारमा थिए । ती मध्ये तीन दल एमाले, राप्रपा र रास्वपाले सरकार छाडिसकेका छन् । पछिल्लो समय आठ दलीय नयाँ सत्ता समीकरण बने पनि प्रधानमन्त्री प्रचण्डले अरु दलललाई सरकारमा सहभागी गराइसकेका छैनन् ।

अहिलेको समीकरणमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा, लोसपा, जनमत, नागरिक उन्मुक्ति, राष्ट्रिय जनमोर्चा रहेका छन् । राजनीतिक समीकरण फेरिएसँगै प्रधानमन्त्री प्रचण्डले संसदबाट पुन विश्वासको मत लिने र मन्त्रिमन्डल पुनर्गठनको तयारी गरिरहेका छन् ।

तर फागुन २५ मा राष्ट्रपति निर्वाचन मिति रहेकाले त्यसपछि मात्रै विश्वासको मत लिने र मन्त्रिमण्डल पुनर्गठन गर्ने मनस्थितिमा प्रधानमन्त्री प्रचण्ड पुगेका छन् । राष्ट्रपति निर्वाचनको आचार संहिता आज फागुन १७ बाट लागू भएपछि त्यसलाई समेत मध्यनजर गरेर प्रधानमन्त्रीले मन्त्रिमण्डल पुनर्गठन त्यसपछि मात्रै गर्न लागेका हुन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहीबार ०६:२१