सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानुमान

प्रि-मनसुन सुरु, सरदरभन्दा कम वर्षा

यस वर्ष हिउँदमा १४ वर्षयताकै कम वर्षा भएको छ ।

हिजोदेखि यो वर्षको हिउँदयाम सकिएर देशभरी नै प्रि–मनसुन सुरु भएको छ । हिजो (मार्च १) देखि सुरु भएको प्रि–मनसुन तीन महिनासम्म रहने र त्यसपछि मनसुन सुरु हुने मौसमविद् मञ्जु बासीले बताएकी छन् ।

यस वर्ष हिउँदमा १४ वर्षयताकै कम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हिउँदयाम सकिने बेलामा केही दिनअघि काठमाडौं, पोखरासहित केही ठाउँमा हल्कादेखि सामान्य वर्षा भएको थियो ।

प्रि–मनसुनको समयमा मेघगर्जन र चट्याङका साथै हावाहुरी र असिना पानीको सम्भावना रहने छ । यो वर्षको प्रि–मनसुनमा पनि सरदरभन्दा कम वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले यो प्रि–मनसुन अवधीमा पनि सरदरभन्दा कम वर्षा हुने आंकलन गरिएको जनाएको छ ।

सरदर वर्षा भन्नाले कुनै केन्द्रमा मापन गरिएको तीस वर्षको औसत वर्षालाई जनाउने विभागको भनाइ छ । विभागले लामो समय खडेरी हुँदा वन डढेलो, पानीको मुहान सुक्ने, वायु प्रदूषण बढ्नेजस्ता विपद्का घटना घट्न सक्ने भएकाले सचेत रहन पनि आग्रह गरेको छ ।

यो वर्षको हिउँदयाममा पनि औसतभन्दा कम वर्षा भयो । विभागले यसलाई खडेरी भनेको छ । सरदर वर्षाको ७५ प्रतिशतभन्दा कम भएमा खडेरीको अवस्था हुन्छ । यो वर्ष जम्मा सरदर वर्षाको २१.५ प्रतिशत मात्र भएको विभागले जनाएको छ ।

यसैबीच, हिउँदयाम सकिएसँगै देशभर प्रि–मनसुन सुरु भएको छ । मार्च १ बाट सुरु भएको प्रि–मनसुन तीन महिनासम्म रहन्छ । प्रि–मनसुनको अवधि मार्च, अप्रिल र मेसम्म रहन्छ र त्यसपछि मनसुन सुरु हुन्छ । प्रि–मनसुनको समयमा दिउँसो मेघगर्जन तथा चट्याङका साथै हावाहुरी र असिना पानीको सम्भावना उच्च रहने विभागले जनाएको छ । यो मौसमी प्रणालीमा स्थानीय वायुको प्रभाव धेरै हुन्छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहीबार ०६:१०