पश्चिम नेपालका तीन प्रदेशका बिरामीको उपचार गर्दै आएको नेपालगन्जस्थित भेरी अस्पतालमा बिरामीको चाप दोब्बरभन्दा बढीले वृद्धि भएको छ ।
केही समय अघिसम्म दैनिक पाँच सयसम्म बिरामी पुग्ने सो अस्पतालमा पछिल्ला दिनमा उपचारका लागि पुग्ने बिरामीको सङ्ख्या दैनिक हजार नाघ्न थालेको छ ।
अस्पतालमा आउने बिरामीको चाप बढ्दा परीक्षणका लागि पर्चा बनाउन र बीमा सुविधा लिन उनीहरूलाई घण्टौँ लाम लाग्नुपर्ने बाध्यता छ ।
निजी स्वास्थ्य संस्थाहरूमा बीमाबाट उपचार सेवा बन्द भएका कारण पनि बिरामीको चाप भेरी अस्पतालमा बढ्दै गएको हो । भेरी अस्पतालका प्रमुख डा.बद्री चापाचाईंले बिरामी चाप धेरै हुँदा उपचार र अन्य परीक्षणमा समस्या हुने गरेको बताए ।
उनका अनुसार बिरामीलाई सहज रूपमा उपचार सेवा दिनका लागि भेरी अस्पतालमा ४० जना विशेषज्ञ चिकित्सक छन्, तर भवन अभावका कारण ओपिडीमा बिरामीलाई उभिने ठाउँ पाउनसम्म मुस्किल पर्दछ ।
इमरजेन्सी वार्ड, शल्यक्रिया कक्ष र प्रयोगशाला सञ्चालनका लागि ठाउँको अभाव हुँदा बिरामीलाई समयमै सहज रूपमा उपचार सेवा दिन समस्या परेको हो ।
भेरी अस्पताललाई ५०० शय्याको बनाउने घोषणा गरिएको तीन वर्ष बितिसके पनि हाल १६२ शय्या मात्रै सञ्चालनमा छन् ।
अस्पताल परिसरमै निर्माण सुरु भएको २४० शय्याको नयाँ भवनको निर्माण अन्तिम चरणमा रहेकोले सो पूरा भएपछि मात्रै राहत हुने अस्पतालले जनाएको छ ।
सत्यपाटी संवाददाता । बाँके