व्यवसायी पृथ्वीबहादुर शाहले ठगी गर्नैका लागि २४ भन्दा बढी कम्पनी खोलेको पाइएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनीमाथि गरेको अनुसन्धानका क्रममा उनका भाइ लगायत २० जना मिलेर ठगी गरेको निस्कर्ष निकालेको हो ।
उनीहरुलाई कारबाही गर्नका लागि सीआइबीले अनुसन्धान प्रतिवेदन बुधबार सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको छ । रिमोट एक्सेसबाट पीडितहरुको डिभाइस मार्फत बैंक एकाउण्टमा पहुँच पुर्याउने र मौज्दात रकम नेपाल र थाइल्याण्डमा पठाउने गरेको खुलेको छ ।
उनले क्यानसर अल्जाइमर रोग पीडित र जेष्ठ नागरिकलाई टार्गेट गरी ठगी गर्ने र पीडितलाई सम्पत्ति सुद्धिकरण विभागले कारबाही गर्छ र कानुनी उल्झनमा परिन्छ भनि कानुनी प्रक्रियामा नजान धम्की दिने गरेको खुलेको छ ।
उनले पीडितलाई नक्कली बैंक स्टेटमेन्ट देखाई पीडितबाट सोही रकम समेत फिर्ता दिने गरेको खुलेको छ । उनले अमेरिकी डलर ४५ लाख ४६ हजार ६३९, पाउण्डस्टलिङ २२ हजार र क्यानडियन ३ लाख ४० हजार ठगी गरेको सीआइबीको निस्कर्ष छ ।
उनले यसरी आर्जन गरेको रकमबाट काठमाडौंमा जग्गा खरिद गरेको भेटिएको छ । कीर्ते विवरणसहित दर्ता भएको उक्त कम्पनी विभिन्न व्यक्ति हुँदै हाल अनुप खड्काको नाममा संचालन रहेको पाईको छ । तर आर्थिक कारोबार भने पृथ्वीबहादुर शाहले नै गरिरहेका छन् ।
पीडितलाई सम्पर्क गर्दा भारतको वेस्ट बंगालबाट गर्ने गरेको तर नम्बर भने अमेरिकन नै देखिने गरेको सीआइबीले फेला पारेको छ । अहिलेसम्म उनीबाट पीडित हुनेको संख्या ५६ जना रहेको खुले पनि २४ जनाले मात्रै जाहेरी दिएका छन् ।
शाहको ११५ लाख ६० हजार ५७७ अमेरिकी डलर भने बैंकमै होल्ड भएको पाइएको छ । उनीहरुविरुद्ध ठगी, लिखित सम्बन्धी कसुर, सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा चलाउने सीआइबीको सुझाव छ ।
ठगीको कसुरमा ७ वर्ष कैद र ७० हजार जरिवाना र बिगो असुल उपर गर्नुपर्ने व्यवस्था छ । असहाय, निरक्षर र ७५ वर्ष माथिकालाई ठगेमा थप एक वर्ष सजाय हुनेछ । लिखित सम्बन्धी कसुरमा पनि ७ वर्ष कैद र ७० हजार जरिवाना र क्षतिपूर्ति भराइदिनु पर्ने व्यवस्था छ ।
सत्यपाटी संवाददाता । काठमाडौं