सूचनाको शक्ति - The Power Of Information

        

‘मन्त्री बनाउन मापदण्ड’

नेपाली कांग्रेसले सरकारमा पठाउन आन्तरिक मापदण्ड बनाउने भएको छ ।

सरकारमा पठाएका मन्त्रीहरूले प्रतिफल दिनेगरी काम गराउन मन्त्री छनोटमा मापदण्ड बनाउने विषयमा सभापति शेरबहादुर देउवा सकारात्मक देखिनुभएको छ ।

मंगलबार सभापति देउवालाई भेटेर केन्द्रीय सदस्य एवं पूर्वसांसद प्रकाश रसाइलीले मापदण्ड बनाएर मात्रै मन्त्री छनोट गर्नुपर्ने सुझाव दिनुभएको थियो ।

जवाफमा सभापति देउवाले मापदण्ड बनाउने विषयमा आफू सकारात्मक रहेको भन्दै त्यसबारे पार्टीभित्र छलफल गर्ने बताउनुभएको हो । यसपटक सभापति देउवा प्रतिफल दिन सक्ने व्यक्तिहरूलाई मन्त्री बनाउन सकारात्मक देखिनुभएको नेता रसाइलीले बताउनुभयो ।

उहाँले देउवाको भनाइ उद्धृत गर्दै भन्नुभयो– ‘अहिलेको राजनीतिक परिवेश नै त्यस्तै छ । सकेसम्म प्रतिफल दिने मान्छेलाई नै मन्त्री बनाउने हो । म त्यसबारे छलफल गर्छु ।

सरकारमा पठाउने मन्त्री छान्न मापदण्ड बनाउने कुरामा सकारात्मक छु ।’ संसद्को सबैभन्दा ठूलो दल कांग्रेस राष्ट्रपति निर्वाचनपछि सरकारमा सहभागी हुने तयारीमा रहेको बताइएको छ ।

पार्टी सरकारमा जाने भएपछि कांग्रेसमा मन्त्री बन्न आकांक्षीहरूले दौडधुप बढाएका छन् । संसद्मा नरहेका केन्द्रीय सदस्य र नेताहरूले भने सभापतिमाथि पार्टीबाट प्रतिफल दिन सक्ने व्यक्तिलाई मात्रै मन्त्री बनाउनुपर्ने दबाब बढाएका छन् ।

गुटका आधारमा नभई विज्ञता र विगतको पर्फमेन्स हेरेर मात्रै जिम्मेवारी दिने व्यवस्था गर्नुपर्ने उनीहरूको सुझाव छ । यसपटक अवसर नपाएका र प्रत्यक्ष निर्वाचितलाई प्रथमिकता दिनुपर्ने नेता रामहरि खतिवडाको भनाइ छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार ०७:४९