देशका केही भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आज बिहान आंशिकदेखि सामान्य बदली रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।
बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । विभागका अनुसार आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको र थोरै स्थानमा हिमपातको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
सत्यपाटी संवाददाता । काठमाडौं