सूचनाको शक्ति - The Power Of Information

        

नेपाल प्रहरीमा अर्का डिआइजीको जागिर पनि धरापमा

आइजिपीका प्रमुख दाबेदारका रुपमा उदाएका अशोक सिंहको अप्रत्याशित बर्हिगमनसँगै नेपाल प्रहरीमा भावी नेतृत्व चयन प्रक्रिया तत्कालका लागि रोकिएको छ ।

भावी नेतृत्वमा कसलाई अघि बढाउने भन्नेमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्णय गर्न नसक्दा एआइजी बढुवा प्रक्रिया रोकिएको स्रोतले बताएको छ ।

२६ वर्षको उमेरमा जागिर खाएको विवरण बाहिरिएपछि डिआइजी सिंह राजीनामा दिन बाध्य भएका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट मुद्दा नै चल्ने अवस्था आएपछि राजीनामा दिएर उनले थप कारबाहीबाट जोगिने बाटो रोजेका हुन् ।

उनको बर्हिगमनपछि अन्य प्रहरी अधिकारीको पनि नागरिकताको जन्ममिति र सिटरोलको जन्ममिति फरक भएको विवरण बाहिर आएको छ । जसकारण थप केही प्रहरी अधिकारीको पनि जागिर धरापमा पर्ने देखिएको छ ।

एक डिआइजीले नै नागरिकता नै सच्याएको पाइएको छ । स्रोतका अनुसार उनले हातले नै नागरिकता सच्याएकोमा पछि नागरिकता हराएको भनेर भोजपुरबाट प्रतिलिपि बनाएका थिए । विस्तृत छानबिन हुँदा ती डिआइजीको पनि जागिर धरापमा पर्ने देखिन्छ ।

अन्य केही एआइजी र डिआइजीको पनि नागरिकता र सिटरोलको जन्ममिति फरक देखिएको छ । यद्यपि, प्रहरी नियमावलीमा जन्ममितिको फरक एक वर्षभन्दा कम भएको अवस्था जुन कागजपत्रबाट जन्ममिति प्रष्ट खुल्छ त्यसैलाई मान्ने भनिएको छ ।

विगतमा नागरिकता वितरण हुँदा वर्ष उल्लेख हुने तर, जन्ममिति उल्लेख नहुने गरेकाले पनि यस्तो समस्या देखिएको हो । आइजिपीकै दाबेदार थप डिआइजीहरुविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी हालेर एकले अर्काको खुट्टा तान्ने गतिविधि पनि यतिबेला देखिएको छ ।

अख्तियारले पनि विभिन्न प्रहरी अधिकारीको विस्तृत विवरण झिकाइसकेको छ । स्रोतका अनुसार करिब एक दर्जन प्रहरी अधिकारीको जन्ममिति र शैक्षिक प्रमाणपत्रमा कैफियत देखिएको छ । कतिपय सिनियर अधिकृतले इन्सपेक्टरको नियुक्ति लिइसकेपछि मात्र स्नातक उत्र्तिण गरेका छन् ।

केहीले भारतको शैक्षिक प्रमाणपत्र लिएका छन् । जसको छानबिन हुन सकेको छैन । तर, पछिल्लो घटनाले व्यक्तिको मात्र होइन सिंगो प्रहरीमाथि नै दाग लागेको छ । प्रहरीका उच्च अधिकारी नै यसरी कीर्ते कागजपत्रका आधारमा जागिर खाने गरेको खुलेपछि संगठनकै छवी बिग्रिएको हो ।

यो विवरण बाहिर ल्याउने हवल्दारलाई कर्मचारी प्रशासनबाट हटाएर कारबाही सुरु गरिएको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ । विगतमा टिका लगाएर प्रहरीमा जागिर खुवाउने चलन थियो । अशोक सिंह नै तत्कालिन आइजिपी मोतिलाल बोहराको कृपाले जागिर खाएका हुन् ।

नागरिकतामा उनको उमेर २६ वर्ष पुगेको थाहा हुँदा हुँदै पनि सिटरोलमा अर्काे जन्ममिति लेख्न लगाएर त्यसरी बोहराले सिंहलाई इन्सपेक्टर बनाएका थिए । पछिल्लो समय जसरी पनि आइजिपी हुने दौडमा लागेपछि सिंहको पृष्ठभूमि उनकै प्रतिस्पर्धीले खोजेका थिए । जसक्रममा उनको बदमासी पत्ता लाग्यो । आइजिपीका लागि उच्च महत्वाकांक्षी हुँदा विश्वराज पोखरेलकै नियमित सिंहले भोगेका छन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलवार १५:३१