सूचनाको शक्ति - The Power Of Information

        

मन्त्रीको सचिवालयमा दलाली, कर्मचारी सरुवामा दलालीतन्त्र

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दुई साताअघि एक विज्ञप्ती जारी गर्यो, जसमा अन्य मन्त्रालयहरुले कर्मचारीको सरुवा गर्दा आफ्नो मन्त्रालयको सहमति लिनुपर्ने उल्लेख थियो ।

कर्मचारी सरुवालाई सिष्टममा लैजान खोजेको मन्त्रालयको दाबी थियो । तर, अहिले निर्णय हेर्दा त्यसको नियत असल देखिएको छैन । मन्त्रालयको सरुवामा दलालीतन्त्र चल्न थालेको छ । मन्त्री र सचिवकै नेतृत्वमा सरुवामा खुलेआम बार्गेनिङ सुरु भएको कर्मचारीले बताएका छन् ।

सरुवामा यस्तो विकृति विगतमा नदेखिएको उनीहरुको भनाइ छ । संघीय मामिलामन्त्री अमनलाल मोदी, सचिव कृष्णहरी पुष्कर, मन्त्रीका निजी सचिव ज्ञाननाथ ढकाल तथा कर्मचारी प्रशासन महाशाखाका सहसचिव कमल भट्टराई मिलेर यसरी सरुवामा सिन्डिकेट कायम गरेका हुन् ।

मन्त्रालयले हालै बढुवा भएका २८ जना कर्मचारीलाई मधेस प्रदेशका स्थानीय तहमा पठाउने निर्णय गर्यो । तर, त्यो निर्णय २० प्रतिशत पनि कार्यान्वायन हुन सक्ने अवस्था नभएको स्रोत बताउँछ । गत साता ६१ सहसचिवको सरुवा गर्यो, जसमा इमान्दार कर्मचारीहरुलाई प्रदेशमा पेलिएको छ ।

प्रदेश बसिसकेका कर्मचारीलाई फेरि प्रदेशमा खटाइएको छ । फेरि ठूलो संख्यामा सहसचिव र उपसचिवको सरुवा तयारी भइरहेको छ । त्यसमा व्यापक चलखेल भइरहेको स्रोत बताउँछ । मन्त्रीकै सचिवालयबाट सरुवामा मोलतोल भइरहेको एक कर्मचारीले बताए । स्थानीय तहको प्रशासकिय अधिकृतमा पठाउन पनि त्यस्तै चलखेल भइरहेको छ ।

मन्त्रालयमै कतिपय कर्मचारी जिम्मेवारीविहिन छन् । हरेक जसो मन्त्रालयमा कर्मचारीहरुले जिम्मेवारी नपाई बसेका छन् । तर, तल्लो तहमा भने कर्मचारीको अभाव छ । यस्तो अवस्थामा मन्त्रालयले कर्मचारी परिचालनलाई व्यवस्थित बनाउन कुनै चासो दिएको छैन । मन्त्री र सचिव सरुवामै केन्द्रीत भएका छन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलवार १५:२२