त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट संगठित रुपमा हुने तस्करीको पर्दाफास भएको छ । प्रयोग गरिएका पुराना सामान विदेशबाट ल्याउँदा त्यसभित्र नयाँ सामान लुकाएर भन्सार कर्मचारीकै लिमेमलोमा संगठित रुपमा तस्करी हुने गरेको खुलेको छ ।
राजस्व अनुसन्धान विभागले यस विषयमा छानबिन थालेपछि विमानस्थल भन्सार कार्यालयमा हंगामा मच्चिएको छ । विभागले गत मगलबार बेलुका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट छुटेका आठ वटा गाडी नियन्त्रणमा लिएर छानबिन गर्दा भन्सार तिरेको भन्दै धेरै सामान देखिएको छ । पुराना सामानभित्र लुकाएर महंगा सामान तस्करी गर्न लागिएको थियो ।
विदेशबाट प्रयोग भएका कपडा लगायत सामान स्वेदश ल्याउँदा भन्सार तिर्नु नपर्ने सुविधा छ । सुविधाको दुरुपयोग गरी त्यस्ता सामानभित्र महँगा नयाँ सामान लुकाएर भन्सार छली हुने गरेको सूचनाका आधारमा विभागले भन्सार पास भएका सामान राखिएका आठ वटा गाडी नियन्त्रणमा लिएको हो ।
प्रारम्भिक अनुसन्धानमा पुराना सामानभित्र नयाँ सामान लुकाइएको भेटिएको छ । केहीमा नयाँ कपडा, जुत्ता तथा विद्युतीय सामान भेटिएका हुन् । यसमा भन्सारका कर्मचारीहरुको समेत मिलेमतो छ । एयरपोर्ट भन्सारका प्रमुख अरुण पोखरेल समेत यसमा छानबिनमा तानिएका छन् । उनी यसअघि वीरगञ्ज भन्सारमा सेटिङ मिलाई अकुत कमाउन सफल कर्मचारी हुन् ।
पछिल्लो समय लक्ष्यअनुसार भन्सार राजस्व न्यून मात्र उठेपछि यसमा तस्करी र कर्मचारीको मिलेमतोको समेत आरोप लाग्दै आएको छ । राजस्व अनुसन्धान विभागले पछिल्लो समय भन्सारमाथि निगरानी बढाएर भन्सार छलीका गाडीहरू धमाधम नियन्त्रणमा लिएर छानबिन थालेको छ । जसकारण भन्सार कार्यालयहरुका कर्मचारीहरु त्रसित भएका छन् । केही गिरोह महानिर्देशक नारायण सापकोटलाई विभागबाट हटाउने खेलमा समेत लागेको स्रोत बताउँछ ।
नेपालका भन्सार कार्यालयमा व्यापारी, भन्सार एजेन्ट र कर्मचारीको डरलाग्दो सेटिङ छ । सस्तो सामानभित्र लुकाएर महंगा सामान ल्याउने र भन्सारमा सेटिङ मिलाउने प्रवृत्ती व्याप्त छ । पछिल्लो समय खुलेआम यस्तो धन्दा चलेका कारण देशको राजश्वमा ठूलो धक्का लागेको छ । भन्सारमा हुने यस्तो सेटिङ आधा मात्र कम गर्न सके विदेशबाट कुनै आर्थिक सहयोग तथा ऋण नै लिन नपर्ने कर्मचारीहरु बताउँछन् ।
सत्यपाटी संवाददाता । काठमाडौं