सूचनाको शक्ति - The Power Of Information

        

अभिनेता पल शाहको रिहाइपछि समीक्षाको फेसबुक डिएक्टिभेट

अभिनेता पल शाह रिहा भएका छन् । उच्च अदालत पोखराको फैसला अनुसार सोमबार उनी रिहा भएका हुन् । तनहुँ कारागारबाट आवश्यक प्रक्रिया पुरा गरेपनि उनी कारागार घेराबाट निस्केका छैनन् । पलका समर्थकहरुले कारागार बाहिर प्रतिक्षा गरिरहेका छन् ।

नाबालिग बलात्कार आरोप लागेका उनले आइतबार उच्च अदालत पोखराबाट सफाइ पाएका थिए । आइतबार कार्यालय समय सकिइसकेकाले आवश्यक प्रक्रिया पुर्याउन ढिला भएपछि आज कार्यालय खुलेसँगै प्रकिया पुरा गरिएको हो । तनहुँ कारागार बाहिर हजारौंको संख्यामा समर्थकहरुको भीड लागेको थियो ।

यता गायिका समीक्षा अधिकारीको फेसबुक एकाउन्ट डिएक्टिभेट भएको छ । उनको फेसबुक एकाउन्ट आइतबार साँझदेखि डिएक्टिभेट देखिएको छ । उनले पछिल्लो पटक एउटा फोटो पोस्ट गरेकी थिइन् । त्यसपछि उनलाई उक्त पोस्टमा थुप्रैले विभिन्न खालका प्रतिक्रिया दिइरहेका थिए । फेसबुक डिएक्टिभेट भएपछि धेरैले यसबारे चासो देखाएका छन् ।

आखिर उनले किन फेसबुक डिएक्टिभेट गरिन् ? धेरैले आश्चर्य व्यक्त गरिरहेका छन् । उच्च अदालत पोखराले नाबालिग बलात्कार अभियोग लागेका पूर्णविक्रम शाह (पल शाह)लाई सफाइ दिएको छ । सफाइ पाएसँगै शाह आज जिल्ला कारागार तनहुँबाट रिहा भइसकेको उनका कानुन व्यवसायी बरिष्ठ अधिवक्ता कमलमोहन वाग्लेले जानकारी दिए ।

नाबालिग बलात्कार अभियोगमा जिल्ला अदालत नवलपुरले दिएको आदेशविरूद्ध जिल्ला सरकारी वकिल र अभियुक्त शाह पक्षले उच्च अदालतमा दिएको पुनरावेदनमा आइतबार भएको बहसपछि अदालतले अभियोग दाबी नपुग्ने फैसला गरेको हो । नवलपुर जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको एकल इजलासले गत भदौ २० गते शाहलाई बलात्कार अभियोगबाट सफाइ दिएको थियो ।

उक्त इजलासले शाहलाई बाल यौन दुरूपयोगमा २ वर्ष ६ महिना कैद सजाय, २५ हजार जरिवाना र पीडितलाई १० लाख क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो । उक्त फैसलाका विरूद्ध जिल्ला सरकारी वकिलको कार्यालय र अभियुक्त शाहले उच्च अदालत पोखरामा पुनरावेदन दिएका थिए ।

उच्च अदालतका कायममुकायम मुख्यन्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासमा आइतबार बहस भएको थियो । बहसमा नाबालिगका तर्फबाट उच्च सरकारी वकिल कार्यालयका उपन्याायधिवक्ता रामप्रसाद अधिकारीले बहस गरेका थिए भने पलका तर्फबाट बरिष्ठ अधिवक्ता कमलामोहन वाग्ले, कृष्णबहादुर थापा, अधिवक्ता माधव घिमिरे, गणेशप्रसाद अधिकारी र जनकराज ढुङ्गानाले बहस गरेका थिए ।

शाहले सुटिङका क्रममा बलात्कार गरेको भन्दै २०७८ फागुन ११ गते तनहुँमा र फागुन १५ गते नवलपुर प्रहरीमा उजुरी दिएकी थिइन् । तनहुँ र नवलपुर जिल्ला अदालतले बकपत्र गर्दा पीडित १७ वर्षीया नाबालिगले आफूमाथि बलात्कार नभएको भन्दै बयान फेरेकी थिइन् । बलात्कार आरोपमा परेको मुद्दामा शाहलाई जिल्ला अदालत तनहुँले यसअघि नै सफाइ दिइसकेको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार १६:०४