सूचनाको शक्ति - The Power Of Information

        

६३ दिनमै टुङ्गियो ओली–प्रचण्ड सत्ता सहकार्य

नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

सोमबार बसेको सचिवालय बैठकले प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

आइतबार परराष्ट्रमन्त्री विमला राई पौड्याल जेनेभा भ्रमणमा निस्किने तयारीमा थिए । तर, अन्तिम समयमा प्रधानमन्त्री प्रचण्डले उनको विदेश भ्रमण रद्द गरिदिएपछि आक्रोशित बनेको एमालेले ६३ दिनमै प्रचण्डसँगको सत्ता सहकार्य टुंग्याएको हो ।

गत पुस १० गते विष्णु पौडेलको नेतृत्वमा एमाले सरकारमा सहभागी भएको थियो । प्रधानमन्त्री प्रचण्डले शपथ लिएकै दिन पुस ११ गते एमाले सरकारमा सहभागि भएको थियो ।

एमालेका आठ मन्त्री र दुई राज्यमन्त्रीले आजै प्रधानमन्त्रीलाई भेटेर राजीनामा दिने तयारी गरेको उपप्रधान एवं अर्थमन्त्री पौडेलले जानकारी दिए । सरकारबारे पर्ख र हेरको रणनीतिमा रहेको एमालेले यसअघि फागुन २५ सम्म समर्थन कायमै राख्ने निर्णय गरेको थियो ।

तर प्रचण्डले एमालेका मन्त्रीहरुलाई हटाउने वा विनाविभागीय बनाउने तयारी गरेपछि एमालेले आकस्मिक बैठक राखेर सरकारबाट हट्ने निर्णय गरेको उपाध्यक्ष एवम् अर्थमन्त्री पौडेलले बताए ।

प्रचण्डलाई प्रधानमन्त्रीमा प्रस्ताव गरेका दुई दल एमाले र राप्रपाले समर्थन फिर्ता लिएपछि प्रचण्डले अब संसदमा पुनः विश्वासको मत लिनुपर्ने भएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार १४:२५