सूचनाको शक्ति - The Power Of Information

        

आजदेखि विहान ११ बजेसम्म चैनपुर बन्द

बैंक तथा वित्तीय संस्थाको ब्याजदरविरुद्ध बझाङका उद्योगी व्यवसायी झन् कडारुपमा संघर्षमा उत्रिएका छन् । आजदेखि २० गतेसम्म विहान ११ बजेसम्म बजार बन्द गर्ने बझाङ उद्योग वाणिज्य संघले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराएको हो ।

सोमबार अर्थात् आजबाट हरेक दिन विहान ११ बजेसम्म बजार बन्द गर्नुका साथै विरोध प्रदर्शन गर्नका लागि तालिका बनाइएको छ । जिल्ला प्रशासन कार्यालय बझाङ तथा सदरमुकाम चैनपुरका चोकहरुमा समेत विरोध प्रदर्शन गरिने बझाङ उद्योग वाणिज्य संघका अध्यक्ष दानबहादुर सुर्मेलीले बताए ।

उद्योगी व्यवसायीहरुले अघि सारेका माग एक महिनाभित्र सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम तय गर्ने समेत उद्योग वाणिज्य संघको चेतावनी छ । बझाङमा फागुन १८ गते ‘नो डिपोजिट’ अर्थात् कुनै पनि बैंक वित्तीय संस्थामा रकम जम्मा नगर्ने निर्णयसमेत गरेको छ ।

नेपाल राष्ट्र बैंकको मौद्रिक नीति, आफु अनुकुल ब्याज वृद्धि लगायतको विरोध गर्दै जिल्लाभरी नै यसको विरोधस्वरुप २० गतेसम्मका लागि विभिन्न चार बुँदे कार्यतालिका नै बनाएर उद्योग वाणिज्य संघले विरोधका कार्यक्रम सार्वजनिक गरेको हो ।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार १४:००