नेकपा एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
परराष्ट्रमन्त्री विमला राई पौडेललाई मन्त्रीको रुपमा जेनेभा जानबाट रोक्नु, एमाले प्रतिपक्षमा जाओस् भन्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक रुपमै अभिव्यक्ति दिएकाले एमाले सरकारबाट बाहिरिएको एमाले नेता विष्णु पौडेलले जानकारी दिए ।
नयाँ सत्ता समीकरण बनेसँगै बदलिएको राजनीतिक घटनाक्रमबारे छलफल तथा सरकारमा रहने, नरहने विषयमा निर्णय लिन एमालेले बैठक बोलाएको थियो । यसअघि शनिबारको बैठकले राष्ट्रपतिको निर्वाचन (फागुन २५ गते) सम्म सरकार नछोड्ने निर्णय गरेको थियो ।
तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजो परराष्ट्रमन्त्री विमला पौडेलको विदेश भ्रमण रोकिदिएपछि एमालेका नेताहरु रुष्ट भएका थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि प्रधानमन्त्री प्रचण्डले आफूलाई धोका दिएको भन्दै चर्को विरोध गरेका थिए । प्रधानमन्त्रीले पनि एमालेसँगको दुई महिने सहकार्यले आफूलाई उकुसमुकुस भएको टिप्पणी गरेका थिए ।
सत्यपाटी संवाददाता । काठमाडौं