सूचनाको शक्ति - The Power Of Information

        

अवैध आयातले नेपालगन्जको उद्योग व्यवसाय धराशायी

भारतबाट हुने अवैध आयातका कारण नेपालगन्जका उद्योग व्यवसाय धराशायी हुँदै गएको व्यवसायीले गुनासो गरेका छन् । सीमावर्ती भारतीय नाकाबाट हुने तस्करी र अवैध आयातका कारण नेपालगन्ज क्षेत्रको व्यापार व्यवसाय धराशायी बन्न पुगेको नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बताए ।

सरकारी निकायले नाकामा कडाइ नगर्दा दैनिकरुपमा तस्करी भइरहेकाले स्थानीय उत्पादन र व्यापारले बजार नपाएको उनको गुनासो छ । अवैध आयात नरोकिएमा उद्योगी व्यवसायी पलायन भई नेपालगन्ज क्षेत्र आर्थिक सङ्कटमा फस्न सक्ने बताउँदै उनले अहिलेको प्रतिकूल अवस्थामा पनि उद्योगी व्यवसायीले सङ्घर्षका साथ उद्योग व्यवसाय सञ्चालन गरेको बताए ।

सरकारले राहतको कार्यक्रम ल्याउनुपर्नेमा जोड दिँदै अध्यक्ष मन्सुरीले निजी क्षेत्रको समस्या समाधान गरेर आर्थिक अवस्था सुदृढ गर्नेतर्फ अग्रसरता नदेखाए अवस्था भयावह हुने बताए । आर्थिक विकासका लागि उद्योग, कलकारखाना र व्यापार व्यवसाय फस्टाउने वातावरण बनाउनुको विकल्प नरहेको उल्लेख गर्दै उनले अवैध आयात र तस्करीलाई निरुत्साहित पार्न माग गरे ।

भारतसँग जोडिएको बाँकेमा छोटी भन्सार कार्यालय सञ्चालन नहुँदा ग्रामीण क्षेत्रबाट दैनिकरुपमा हुने तस्करीले नेपालगञ्जको व्यापार व्यवसायलाई समस्यामा पारेको उनको भनाइ छ । बाँकेको भारतसँग जोडिएको ६५ किमीको खुला सीमानाकामा हाल एउटा मात्र भन्सार कार्यालय छ । ग्रामीण नाकामा रहेका सात छोटी भन्सार कार्यालय करिब दुई दशकअघि बन्द गरिएकामा हालसम्म पुनःस्थापना हुन सकेका छैनन् ।

छोटी भन्सार कार्यालय नहुँदा ग्रामीण नाकाबाट ठूलो परिमाणमा विभिन्न सामग्री राजस्व छलेर खुलारूपमा भारतबाट भित्रिने गरेकाले राजस्वको लक्ष्य पूरा गर्न समस्या भइरहेको नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी डिल्लुप्रसाद शर्माले बताए । उनका अनुसार केही वर्षयता छोटी भन्सार बन्द गरिएका नाकाबाट खुलारूपमा चोरी पैठारी बढेका कारण राजस्व सङ्कलन घटेको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार १०:२५