सूचनाको शक्ति - The Power Of Information

        

नेम्वाङलाई मत माग्न ओलीका सत्र पत्र

यही फागुन २५ मा हुने राष्ट्रपति पदको निर्वाचनका लागि मनोनयन दर्तासँगै आफ्ना उम्मेदवारलाई मत माग्न नेकपा एमालेले १७ ठाउँ पत्र पठाएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई मत दिन आग्रह गर्दै दल र स्वतन्त्र सांसदलाई पत्र पठाउनुभएको हो ।

संसदमा प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो दल नेपाली कांग्रेसबाहेक सबै राजनीतिक दल र स्वतन्त्र सांसदलाई समेत पत्र लेखेर मत दिन अनुरोध गरिएको नेकपा एमालेले जनाएको छ । कांग्रेसको आफ्नै उम्मेदवार भएकाले उक्त दलबाट मत विभाजन नहुने भएपछि पत्र नपठाएको एमालेको भनाइ छ ।

एमाले सचिव पद्मा अर्यालले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘हामीले आफ्नै उम्मेदवार कांग्रेसबाहेक सबै दल र स्वतन्त्र सांसदहरूलाई समेत गरेर १७ वटा पत्र लेखेका छौं । विश्वास छ, उहाँहरूले राष्ट्रपतिमा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई मत दिनुहुन्छ ।’

यो संविधान र लोकतन्त्रको रक्षाका लागि कानुनका ज्ञातासमेत रहेका नेम्वाङलाई उठाएका कारण गठबन्धनमा आबद्ध सबै दलहरूले उहाँलाई नै साझा उम्मेदवार मानेर मतदान गर्नुपर्ने अर्यालको भनाइ छ ।

फागुन २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेबाट सुवास नेम्वाङले शनिबार मनोनयन दर्ता गराएका छन् ।

त्यसलगत्तै नेकपा एमालेले नेम्वाङलाई मत माग्दै संसदमा प्रतिनिधित्व गर्ने दलका नेता र स्वतन्त्र सांसदहरूलाई पत्र पठाएको हो । अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षर भएको पत्र संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दल र स्वतन्त्र सांसद गरी १७ जनालाई पठाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिनुभयो ।

कांग्रेसबाहेकका सबै दललाई औपचारिक पत्र पठाएर नेम्वाङलाई मत दिन पत्रमा अनुरोध गरिएको छ ।

स्रोत : नेपाल समाचारपत्र
प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार ०७:३१