बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई थुनामा राख्ने कि धरौटीमा छाड्ने भन्नबारे सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ ।
‘क्रिकेट खेल्नका लागि विदेश जान पाउँ’ भनी आरोपित लामिछानेले दिएको निवेदनमाथि सुनुवाइ गरेपछि सर्वोच्च अदालतको एकल इजलासले आइतबारका लागि पेशी तोक्न आदेश दिएको हो ।
आइतबारको सुनुवाइ उच्च अदालत पाटनले लामिछानेलाई २० लाख धरौटीमा छाड्न गरेको आदेश ठिक थियो कि थिएन भन्नेमा केन्द्रित हुनेछ ।
सर्वोच्च अदालतले उच्च अदालतको आदेश सदर गरेमा मात्रै ‘आफूलाई विदेश जान अनुमती दिनुपर्ने’ भनी लामिछानेले पेश गरेको निवेदनमा प्रवेश गरी बहस हुनेछ ।
सर्वोच्च अदालतले जिल्ला अदालतको आदेश सदर गरेमा लामिछाने थुनामा बस्नुपर्नेछ भने साधारण तारिखमा छाड्ने आदेश गरेमा उनले विदेश जान अनुमती माग्नुपर्ने छैन । लामिछानेमाथि नाबालिक किशोरीमाथि बलात्कार गरेको आरोप छ ।
उनी विरुद्धको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधिन छ । शुक्रबार नै लामिछाने विरुद्ध महान्यायाधिवक्ता कार्यालयले पेश गरेको निवेदन पेशीमा तोकिएपछि ‘हेर्न नभ्याइने’ कारण सुनुवाइ हुन सकेको थिएन ।
सर्वोच्च अदालतको एकल इजलासले त्यो निवेदनसहित विदेश जान अनुमती मागिएको निवेदनलाई एक साथ पेश गर्न आदेश दिएको थियो । आइतबार दुई जना न्यायाधीश रहने संयुक्त इजलासमा दुवै निवेदनमाथि सुनुवाइ हुनेछ ।
सत्यपाटी संवाददाता । काठमाडौं