सूचनाको शक्ति - The Power Of Information

        

लघुवित्त प्रकरण : कर्जा प्रवाह र प्रयोगमा समस्या

लघुवित्त वित्तीय संस्थाबाट लिएको ऋण तिर्न नसकेपछि ऋणीहरू यतिखेर चर्को तनावमा छन् । लघुवित्तले मनपरि ऋण दिएको र उक्त ऋणको ब्याज पनि चर्को लिइरहेको भन्दै ऋणीहरूले ऋण तिर्न नसक्ने बताउँदै आइरहेका छन् ।

लघुवित्तबाट लिएको ऋण तिर्न नसक्ने अवस्था सिर्जना भएको भन्दै मिनाहा गर्न समेत उनीहरुको माग छ । संघर्ष समिति नै गठन गरी ऋणीहरूले ऋण मिनाहाको मागसहित आन्दोलन गर्न थालेको करिब एक वर्ष भइसकेको छ ।

पछिल्लो समय लघुवित्तले लगानी गरेको ऋण असुली हुन नसक्नु सबैको टाउको दुखाइको विषय बनेको छ । राष्ट्र बैंकको नियमनमा रहेका लघुवित्त कम्पनीहरूले सुरूमा गाउँगाउँमै गएर ऋण बाँडेको तर पछि ऋणीहरूले तिर्न नसक्ने अवस्था आएपछि संस्था नै खारेजीको समेत माग उठ्न थालेको छ ।

लघुवित्तमा अहिले देखिएको समस्याका मुख्य रुपमा ३ पाटा छन् । पहिलो जथाभावी ऋण प्रदान, दोस्रो ऋणको दुरुपयोग र तेस्रो ब्याज वृद्धि । सुरूमा लघुवित्तहरूले घरघरमै पुगेर ऋण लिनका लागि आग्रह गरेका थिए ।

लघुवित्तमा प्रतिस्पर्धा थियो भने कर्मचारीहरुलाई पनि ऋण प्रवाह बढाउने दबाब थियो । यही कारण जथाभावी रुपमा कर्जा प्रवाह गरियो । ऋण लिएपछि व्यवसाय सुरू नगर्दै रकम खर्च भएको उनीहरुले सार्वजनिक रूपमै बताएका छन् ।

स्रोत : कारोबार दैनिक
प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतवार ०७:४२