नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
पौडेलको प्रस्तावकमा कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, जसपाका उपाध्यक्ष अशोक राई र जनमत पार्टीका नेता मो. अब्दुल खान छन् ।
समर्थकमा लोसपाका अध्यक्ष महन्थ ठाकुर, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र माओवादी नेता हितराज पाण्डे छन् ।
पौडेललाई सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थन छ ।
उनलाई शनिबार सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले राष्ट्रपतिको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको थियो । बैठकपछि नेता पौडेलले कांग्रेसको मात्र नभई सबै राजनीतिक दलले आफूमाथि सद्भाव राखेको प्रतिक्रिया दिएका थिए ।
‘कांग्रेसले मात्र होइन, सबै पार्टीले ममाथि सद्भाव राखेका छन् । नेपालको राजनीतिक जगतले ममाथि सद्भाव राखेका छन्,’ उनले भने, ‘सबै दलका संसदमा रहेका प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभाका साथीहरुको सद्भाव मैले पाएको छु ।’
उनले संविधान, राष्ट्रियताको संरक्षण र नेपाली जनताको रेखदेख गर्ने अधिकार र जिम्मेवारी पनि आफूलाई आउन लागेको बताए । ‘नेपालको संविधानको संरक्षण, नेपालको राष्ट्रियताको संरक्षण र नेपाली जनताको रेखदेख गर्ने अधिकार र जिम्मेवारी मलाई आउन लागेको छ,’ उनले भने ।
७० वर्षसम्म संघर्ष गरेर प्राप्त गरेको व्यवस्थाको महत्व धेरै रहेको पौडेलले बताए । उनले भने, ‘म सबै नेपाली दाजुभाइ दिदिबहिनीलाई अनुरोध गर्न चाहन्छु, हामी सबै मिलेर यो राष्ट्र र संविधानको रक्षा गरौं । यसमाथि खेलवाड गर्नेप्रति सबै नेपाली सजग हुनुपर्छ ।’
गएको मंसिर ४ मा सम्पन्न आम निर्वाचनपछि कांग्रेस र माओवादी मिलेर सरकार बनाउनु पर्ने बताउँदै आएका पौडेलले नेकपा एमाले र माओवादीबीच प्रधानमन्त्री आधा–आधा कार्यकाल र राष्ट्रपति एमालेले पुरै कार्यकाल लिने गरी गत पुस १० गते सहमति भएपछि ‘प्रचण्डबाट कांग्रेसलाई नभई, कांग्रसले प्रचण्डलाई धोका दिएको’ टिप्पणी गरेका थिए ।
तत्कालीन समयमा उनी प्रचण्डलाई पहिलो कार्यकालको प्रधानमन्त्री दिएर पनि चुनावी गठबन्धन जोगाउनु पर्ने पक्षमा देखिएका थिए । पुस १० मा टुटेको तत्कालीन पाँच दलीय गठबन्धन ब्युँताउन पौडेलले राजनीतिक कौशल प्रदर्शन गरेका छन् ।
२०१५ सालदेखि कांग्रेसको राजनीतिमा लगेका पौडेल २०३४ सालमा पहिलो पटक पार्टीको केन्द्रीय सदस्य बनेका थिए । १२ औं महाधिवेशनबाट उपसभापति बनेका पौडेलले कार्यवाहक सभापतिको हैसियतमा २०७२ सालमा पार्टीको १३ औँ महाधिवेशन सफलतापूर्वक सम्पन्न गरेका थिए ।
पौडेलले राजनीतिक जीवनमा २०१८ देखि २०६२ सम्म अनेक पटक गरी झण्डै १५ वर्ष जेल जीवन बिताएका छन् । उनी पहिलो पटक २०१८ को भरतपुर काण्डको विरोधमा उत्रिँदा गिरफ्तार भएर जेल परेका थिए ।
उनी कीर्तिपुर विश्वविद्यालयमा रमाइलो झोडा काण्डको विरोधमा कार्यक्रम गर्दा गिरफ्तार भएर २०२८ बाट २०३२ सम्म जेल परेका थिए । पौडेल २०४७ पछिका आमनिर्वाचनमा ६ पटक (वि.सं २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७९) तनहुँबाट प्रतिनिधिसभा तथा संविधानसभा सदस्य निर्वाचित भइसकेका छन् ।
उनले स्थानीय विकासमन्त्री, कृषि तथा सहकारीमन्त्री, उपप्रधानमन्त्री तथा गृहमन्त्री, सञ्चारमन्त्री, जलस्रोत, शिक्षामन्त्री र उपप्रधान तथा शान्ति पुनःनिर्माणमन्त्री भएर सरकार सञ्चालनको अनुभव बटुलिसकेका छन् ।
प्रतिनिधिसभाका पूर्वसभामुखसमेत रहेका पौडेल मानव अधिकार सम्बन्धी विभिन्न पुरस्कारसहित जापान सरकारले प्रदान गरेको राजकीय सम्मान ‘अर्डर अफ द राइजिङ सन’ बाट सम्मानित भइसकेका छन् ।
उनका प्रजातान्त्रिक समाजवाद, आस्थाको यात्रा, कृषि क्रान्ति र समाजवाद, राजनीतिको मार्ग, नेपाली कांग्रेस रूपान्तरणको मार्गलगायत दर्जनबढी पुस्तक र विभिन्न विषयमा नेपालको राष्ट्रिय, साप्ताहिक तथा अनलाइन मिडियाहरूमा समसामयिक लेखहरु प्रकाशित छन् ।
तत्कालीन सभापति विश्वेश्वरप्रसाद कोइराला, पार्टीका सर्वमान्य नेता गणेशमान सिंह, पार्टीका संस्थापक नेता कृष्णप्रसाद भट्टराई र पछि सभापति गिरिजाप्रसाद कोइराला र सिंह तथा भट्टराईबीचको विवाद तथा मनमुटाव मिलाउन सधैं मध्यस्थता गरेकाले उनलाई कांगे्रसभित्र मध्यमार्गी नेताका रुपमा चिनिन्छ ।
सशस्त्र द्वन्द्वरत तत्कालीन नेकपा माओवादीलाई मूलप्रवाहको राजनीतिमा ल्याउने ऐतिहासिक वार्ता र सहमतिका काममा अग्रणी भूमिका पनि निभाएका थिए । उनी १२ बुँदे सहमति र विस्तृत शान्ति सम्झौताका मस्यौदाकार मध्येमा पनि पर्दछन् ।
नेता पौडेल ‘संविधानको रक्षा, प्रतिनिधि सभाको सुरक्षा’ भन्दै कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा र जनमोर्चाबीच गठबन्धन गरी चुनावमा जाने रणनीतिका सूत्रधार पनि मानिन्छन् ।
पार्टी र सरकार दुवैतर्फ सर्वोच्च नेतृत्वमा पुग्न भने उनी असफल रहँदै आएका थिए । ०६७ सालमा प्रधानमन्त्रीका लागि उनले १७ पटक प्रतिस्पर्धा गरे । तर, सो पदमा उनी पुग्न सफल भएनन् । त्यस्तै पार्टी सभापतिको चुनाव पनि उनले हारे । त्यसैले कतिपयले उनलाई असफल नेताका रुपमा लिने गरेका थिए ।
तर, राजनीतिक जीवनको उत्तरार्धमा उनका लागि राष्ट्रप्रमुख पदको ढोका खुलेको छ । २००१ असोज २९ गते तनहुँको मिलुङ्, बाहुनपोखरा (हालको व्यास नगरपालिका–८) मा आमा ऋषिमाया र बुबा दुर्गाप्रसादको कोखबाट मध्यम वर्गीय किसान परिवारमा जन्म भएको थियो ।
सविता पौडेलसँग वैवाहिक बन्धनमा बाँधिएका पौडेलका तीन छोरी र एक छोरा छन् । तनहुँको व्यास नगरपालिका–२ अमरापुरी बसोबास भएका नेता पौडेल काठमाडौँको बोहराटारमा बस्दै आएका छन् । उनले नेपाली साहित्यमा स्नाताकोत्तर र संस्कृतमा शास्त्रीसम्मको अध्ययन गरेका छन् ।
सत्यपाटी संवाददाता । काठमाडौं