बागमती प्रदेश सरकारलाई समर्थन गर्दै मन्त्रिपरिषदमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का मन्त्रीहरूले संयुक्त रूपमा राजीनामा दिने भएका छन् ।
प्रदेश सरकारमा सहभागी राप्रपा संसदीय दलका नेता तथा खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री उद्धव थापासहित पर्यटन, उद्योग तथा सहकारी मन्त्री डम्बरबहादुर तामाङ र वन तथा वातावरण मन्त्री राजु विष्टले संयुक्त रूपमा मुख्यमन्त्री शालिकराम जमकट्टेल समक्ष राजीनामा बुझाउने भएका हुन् ।
राष्ट्रपतिको उम्मेदवारमा शुक्रबार साँझ नेपाली कांग्रेस, नेकपा माओवादी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादीसहित आठ दलको नयाँ गठबन्धन बनेपछि राप्रपाको केन्द्रीय कार्यसम्पादन र ससंदीय दलको बैठकले संघीय सरकार र प्रदेश सरकार दुवैबाट बाहिरिने निर्णय गरेको थियो ।
केन्द्रीय सत्ता समीकरण परिवर्तन भएको र संघीय सरकारमा सहभागी राप्रपाका मन्त्रीहरूले समेत राजीनामा दिएका कारण पार्टीको निर्णय अनुसार नै राजीनामा दिइ प्रदेश सरकारबाट बाहिरिने संसदीय दलका नेता थापाले प्रतिक्रिया दिए । संसदीय दलका नेता थापाले पुस २५ गते मुख्यमन्त्री जमकट्टेलसँगै बिनाविभागीय मन्त्रीका रूपमा शपथ लिएका थिए ।
उनले माघ ११ गते मन्त्रिपरिषद् विस्तार हुँदा खानेपानी, ऊर्जा तथा सिँचाइको जिम्मेवारी पाएका हुन् । तामाङ र विष्टले माघ ११ गतेबाट प्रदेश सरकारको पर्यटन, उद्योग तथा सहकारी र वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका थिए । बागमती प्रदेशसभाका ११० सदस्यमध्ये राप्रपाका १३ सांसद छन् । जसमा भुवनकुमार पाठक सभामुख छन् भने विष्टसहित तीनजना मन्त्री छन् । सभामुख पाठकको हकमा भने अहिले कुनै निर्णय नभएको बताइएको छ ।
सत्यपाटी संवाददाता । मकवानपुर