नेकपा एमालेले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ । नेपाली राजनीतिमा ‘मिराकल’ नभए सुवासले चुनाव जित्दैनन् । कम्तिमा राष्ट्रपति निर्वाचनकै सन्दर्भमा अब राजनीतिका अनेक सम्भावना पनि काम लाग्ने सम्भावना छैन । एमालेले सुवालाई राष्ट्रपतिको उम्मेदवार बनाएपछि दुई विषयमा टिप्पणी भइरहेको छ ।
एक, हार्ने भएपछि एमालेले सुवासलाई उम्मेदवार बनायो । अर्थात्, सुवासलाई बलिको बोको बनाइयो । दुई, जित्ने अवस्था रहँदासम्म राष्ट्रपतिका लागि एमालेमा अर्कै उम्मेदवार थिए । एक राजनीतिक दलको हैसियतमा एमालेका लागि यी दुवै टिप्पणी स्वभाविक हुनसक्छ । र, एक राजनीतिज्ञका रूपमा सुवासले आफ्नो उम्मेदवारीको विषयलाई बुझेकै होलान् । बाँकी सुवासले ‘आत्मवृतान्त’ लेख पढ्न पाइएला ! तर, यस बिचमा थुप्रै खेलहरू भएका छन् । जुन खेलहरूले सुवासलाई राष्ट्रपतिको सर्वसम्मत उम्मेदवार बन्न समेत रोक्यो ।
निर्वाचनअघिको गठबन्धन भत्केसँगै एमाले र माओवादीसहितका दलको मिलेमतोमा सरकार बन्यो । लिखित सुरुमा भागबन्डा नभएपनि प्रधानमन्त्री माओवादीले पाएपछि राष्ट्रपति एमालेले पाउने पक्का मानियो । र, भावी राष्ट्रपतिका रूपमा सुवास नेम्वाङको नाम चर्चामा आयो । पार्टीले राष्ट्रपति पाउने र पार्टीबाट आफू नै राष्ट्रपतिको उम्मेदवार बन्ने बुझाइएका साथ सुवासले पनि आन्तरिक पहललाई गति दिएका थिए । तर, पार्टी भित्रकै खेलाडीहरू सुवासभन्दा अगाडि देखिए । र, एमाले अध्यक्ष ओली स्वयम् ‘सुवासलाई नै राष्ट्रपति बनाउनु पर्छ’ भन्ने पक्षमा उभिन सकेनन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको पछिल्लो छलफलमा अध्यक्ष ओलीले सुवासको नाम वैकल्पिक उम्मेदवारको रूपमा प्रस्तुत गरेका थिए । ओलीले वर्ष अगाडिमात्र पार्टी विभाजन गरेका माधवकुमार नेपाललाई राष्ट्रपतिका लागि पहिलो उम्मेदवारको रूपमा प्रस्ताव गरेका थिए । यसले पनि के प्रष्ट हुन्छ भने एमाले सुवास रुचिका उम्मेदवार थिएनन् । छलफलहरूमा प्रचण्डले ओलीसँग एमालेबाट सहमति जुट्नसक्ने सम्भावित व्यक्ति सुवासको नाम मात्र सिफारिस गर्न बारम्बार आग्रह गरेका थिए ।
तर, ओली सुवासको नाम मात्र सिफारिस गर्ने पक्षमा तयार भएनन् । बरु, राष्ट्रपति निर्वाचनलाई खेल्ने अस्त्रको रूपमा प्रयोग गर्ने नीति अघि सारे । सुवासलाई राष्ट्रपति बन्नबाट रोक्न वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल लगायतका नेताहरूले ठूलै अभियान चलाएका थिए । महासचिव शंकर पोखरेल पनि सुवासलाई रोक्ने पक्षमै थिए । र, यिनै नेताको दबाबमा परेपछि ओलीले सुवासलाई राष्ट्रपति बनाउने निर्णय गर्न सकेनन् । आवश्यक पहल पनि लिएनन् ।
एमालेभित्र राष्ट्रपतिको विषयलाई लिएर आन्तरिक संघर्ष चलिरहेकै बेला सत्ता समीकरणमा स्वभाविक फेरबदलको परिस्थिति बन्यो । सहकार्यमा रहेको माओवादीले निर्वाचन अगाडिको गठबन्धन ब्युँतायो । र, एमालेबाट राष्ट्रपति बन्ने सम्भावना सकियो । एमालेका उम्मेदवार राष्ट्रपति निर्वाचित नहुने भएपछि भने ईश्वर र शंकरहरू राष्ट्रपतिको दौडबाट सर्लक्कै बाहिरिए । र, एमालेबाट राष्ट्रपतिका लागि उम्मेदवार नै नहुने भएपछि ओलीले सुवासलाई राष्ट्रपतिको उम्मेदवार बनाउनुपर्ने परिस्थिति बन्यो ।
एमाले नेताहरूको भनाइलाई आधार मान्दा पनि जित्ने अवस्थामा सुवास उम्मेदवार बन्ने थिएनन् । अर्थात्, ईश्वर पोखरेल राष्ट्रपतिको उम्मेदवार बन्ने थिए । तर, हार्ने अवस्थामा सुवासलाई उम्मेदवार बनाइएको हो । एक नेताले भने, ‘पार्टीको उम्मेदवारले राष्ट्रपति जित्ने अवस्थामा ईश्वर कमरेडलाई उम्मेदवार बनाउने तयारी थियो । तर, हार्ने परिस्थिति बनेपछि सुवास कमरेडलाई उम्मेदवार बनाइएको हो । पछिल्लो समय पार्टीमा यस्तै परिस्थिति बनेको थियो ।’
यी एमाले नेताले भनेजस्तै सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा पनि हार्ने भएपछि एमालेले सुवासलाई राष्ट्रपतिको उम्मेदवार बनाएको टिप्पणी हुन थालेको छ । कतिपयले त आदिवासी जनजाति भएकै कारण सुवासलाई ‘बलिको बोको’ बनाइएको आरोप लगाउने गरेका छन् । समकालीन नेतृत्वमध्ये सुवासलाई क्लिन र मान्य नेताको रूपमा लिइन्छ । सभामुखको रूपमा जिम्मेवारी निर्वाह गर्दा सुवासले निर्वाह गरेको भूमिकालाई लिएर सुवासप्रति धेरैमा सकारात्मक धारणा पाइन्छ । तर, यसपटक भने राष्ट्रपति बन्ने सुवासको चाहना अपुरो रह्यो ।
सत्यपाटी संवाददाता । काठमाडौं