सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रपतिमा कसले मार्ला बाजी ?

राष्ट्रपतिमा दुई पूर्व सभामुखको भिडन्त, रामचन्द्रको जीत निश्चित

निर्वाचनमा दुई जनाको मात्र उम्मेदवारी परे कांग्रेसका वरिष्ठ नेता पौडेलको जीत निश्चित हुने देखिन्छ ।

लामो रस्साकस्सीपछि अन्ततः सभामुखमा दुई मुख्य ठुला दल नेपाली कांग्रेस र एमालेले उम्मेदवार तय गरेका छन् । नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई सर्वसम्मत उम्मेदवार प्रस्ताव गरेको छ भने एमालेले उपाध्यक्ष सुवास नेम्वाङलाई ।

शनिवार बिहान कांग्रेसले सानेपास्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो भने एमालेले च्यासलस्थित केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले उम्मेदवार तय गरेको हो ।

दुबै उम्मेदवारले आजै नयाँ बानेश्वरस्थित संसद भवनमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनयन गर्नेछन् । राष्ट्रपतिको निर्वाचन २५ गतेका लागि तोकिएको छ । राष्ट्रपतिका लागि दुई ठुला दलले उभ्याएको दुबै उम्मेदवार पूर्व सभामुख हुन् ।

कांग्रेस वरिष्ठ नेता पौडेल २०५१ देखि २०५५ सम्म सभामुख बनेका हुन् भने सुवास नेम्वाङ संविधानसभाका अध्यक्ष एवं पूर्व सभामुख हुन् । शान्ति प्रक्रियापछि दुई वटा संविधान सभामा नेम्वाङ दुईपटक संविधानसभा अध्यक्ष बनेका थिए । त्यसपछि रुपान्तरित भएको प्रतिनिधिसभामा नेम्वाङ सभामुख बनेका थिए ।

पौडेल बलिया कि नेम्वाङ ?

शुक्रवार बालुवाटारमा भएको नयाँ सहमतिलाई हेर्ने हो भने कांग्रेसका उम्मेदवार पौडेल यो निर्वाचनका बलिया उम्मेदवार देखिन्छन् । पौडेललाई यो प्रतिस्पर्धामा माओवादी र एकीकृत समाजवादीसहित ८ दलको साथ रहने देखिन्छ ।

शुक्रवार बनेको गठबन्धनको समीकरण अनुसार अब जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमोर्चाको समेत पौडेललाई साथ रहनेछ । यसरी हेर्दा पौडेलको जित लगभग निश्चित देखिन्छ ।

यता एमालेबाट उम्मेदवार बनेका नेम्वाङको पक्षमा राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी खुल्ने देखिन्छ । यद्यपि संघीयता र प्रदेश खारेजीको माग गर्दै आएको राप्रपाले राष्ट्रपतिको निर्वाचनमा भाग लिन्छ कि लिँदैन पक्का भइसकेको छैन । रास्वपा यसअघि नै सरकार छाडेर बसेको छ । उसले समर्थन भने फिर्ता लिइसकेको छैन ।

राप्रपाले शनिवार नै सरकार छाड्ने र सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरिसकेको छ । एमालेले पुस १० गतेको सहमति सम्झाउँदै फागुन २५ गतेसम्म सरकारलाई समर्थन जारी राख्ने जनाएको छ । पुस १० मा राष्ट्रपति पद एमालेको भागमा परेकोले नतिजा कांग्रेसकै पक्षमा जान्छ भन्नेमा आफूहरु नरहेको एमालेको दाबी रह्यो ।

‘सरकारबाट बाहिरिने भन्ने कुरै भएन नि । २५ गतेसम्म राष्ट्रपति चयनको नीति भएकोले त्योबेलासम्म यही गठबन्धन पुस १० कै सहमति अनुसार अघि बढ्ने निर्णय गरेका छौ,’ उनले भने, ‘सरकार फाल्ने कि बस्ने भन्ने विषय नै हैन अहिले राष्ट्रपतिको विषय हो ।’

राष्ट्रपतिको निर्वाचनमा नतिजा आफ्नो अनुसार नआएमात्र एमालेले सरकार छाड्ने निर्णय लिने देखिन्छ । यद्यपि निर्वाचनमा दुई जनाको मात्र उम्मेदवारी परे कांग्रेसका वरिष्ठ नेता पौडेलको जीत निश्चित हुने देखिन्छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार १२:५९