सूचनाको शक्ति - The Power Of Information

        

कस्तो व्यक्ति बन्न सक्छ राष्ट्रपति ? यस्तो छ उमेदवारको योग्यता

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा उमेदवार बन्न कुनै लाभको पदमा बहाल नरहेको र कम्तीमा ४५ वर्ष उमेर पूरा भएको व्यक्ति हुनुपर्ने कानुनी प्रावधान छ ।

‘राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन, २०७४’ को दफा ११ मा उल्लेख गरिएको उमेदवारको योग्यता सम्बन्धी व्यवस्था बमोजिम उमेदवार हुन वंशजका आधारमा नेपाली नागरिक भएको, कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको, कुनै संघीय कानुनले अयोग्य नभएको, कुनै लाभको पदमा बहाल नरहेको हुनुपर्नेछ ।

ऐनले यस प्रयोजनका लागि ‘लाभको पद’ भन्नाले निर्वाचन वा मनोनयनद्वारा पूर्ति गरिने राजनीतिक पदबाहेक सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने अन्य पद बुझिने स्पष्ट गरेको छ । ऐनको दफा १२ मा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहमा वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको व्यक्ति उमेदवार हुन अयोग्य मानेको छ ।

निर्वाचन सम्बन्धी प्रचलित कानुन बमोजिम सजाय पाई त्यस्तो सजाय भोगिसकेको मितिले दुई वर्ष भुक्तान नगरेको, भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागुऔषध बिक्री वितरण तथा निकासी वा पैठारीमा संलग्न भएको व्यक्ति राष्ट्रपति र उपराष्ट्रपति पदका लागि उमेदवार हुन योग्य मानिदैन ।

सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरण सम्बन्धी कसुर वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा सजाय पाई वा कुनै कसुरमा जन्म कैद वा २० वर्ष वा सोभन्दा बढी कैदको सजाय पाई त्यस्तो फैसला अन्तिम भएको, सङ्गठित अपराधसम्बन्धी कसुरमा कैदको सजाय पाई वा कर्तव्य ज्यान सम्बन्धी कसुरमा २० वर्षभन्दा कम कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले छ वर्ष पूरा नभएको, जातीय भेदभाव तथा छुवाछूत, बोक्साबोक्सी वा बहुविवाह सम्बन्धी कसुरमा कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले तीन वर्ष पूरा नभएको व्यक्ति उमेदवार हुन पाउने छैन ।

उल्लिखित कसुरबाहेक अन्य कसुरमा पाँच वर्ष वा सोभन्दा बढी कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले ६ वर्ष पूरा नभएको, प्रचलित कानुनबमोजिम कालोसूचीमा रहेकामा सो अवधिभर, कैदमा बसेकामा कैद बसेको अवधिभर, मानसिक सन्तुलन ठीक नभएको व्यक्ति उमेदवार हुन अयोग्य हुनेछ ।

निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते र उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते हुने गरी मिति तय गरेको छ । निर्वाचनका लागि यही फागुन ८ गतेदेखि नयाँ वानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको परिसरमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएको छ । स्वीकृत निर्वाचन कार्यक्रम अनुसार आज बिहान १० देखि दिउँसो ३ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उमेदवारको मनोनयनपत्र दर्ता गरिनेछ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार ०८:१२