सूचनाको शक्ति - The Power Of Information

        

जन्मदिन पारेर केपी ओलीले खोले यूट्यूब च्यानल ‘बा’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘बा’ नाम गरेको यूट्यूव च्यानल खोलेका छन् । आफ्नो जन्मदिन पारेर अध्यक्ष ओलीले आउने पुस्तालाई सुनाउन आफ्ना अनुभव र स्मरण उक्त यूट्यूव च्यानलमा राखिने बताएका छन् ।

युवा पुस्ता ओली ‘बा’का नामले परिचित छन् । उनलाई पार्टीभित्र धेरै नेताले बाको नामबाट सम्वोधन गर्छन् । आफ्ना सन्तान नभए पनि ओलीले सबै नेता कार्यकर्ता र आम नागरिकलाई अभीभावकीय भूमिका निर्वाह गर्ने गरेको भन्दै उनलाई ‘बा’का नामले सम्वोधन गर्ने गरिन्छ ।

अहिले उक्त यूट्यूव च्यानलमा एउटा भिडियो अपलोड गरिएको छ । जसमा ‘तीन मृत्यु जसले मलाइ छोडेर गए’ शीर्षकमा ओलीको भावुक विगतलाई राखिएको छ । उक्त भिडियोमा ओलीले ०५१ सालमा हेलिकप्टर दुर्घटना हुँदासमेत आफूहरु बाँचेको हृदयविदारक स्मरण उल्लेख गरेका छन् ।

दोस्रोमा प्रधानमन्त्री रहँदाका बखत २०७६ मंसिरमा एपेन्डिसाइटिस भएको, आन्द्रामा इन्फेक्सनसमेत भएको र त्यसले गर्दा आन्द्रा सुन्निएर पीप निस्केर आन्द्रातिर फैलिएको हृदयविदार विषय उल्लेख गरेका छन् । तर डाक्टरको अथक मेहनत र प्रयासले आफू बाच्न सकेको उल्लेख गरेका छन् ।

ओलीले भनेका छन्, ‘२०७६ मंसिर महिनाको एक दिन मलाई अचानक पेट दुख्यो । खप्नै गाह्रो भएपछि मलाई अस्पताल पुर्याइयो । एपेन्डिसाइटिस भएको रहेछ । मेरो आन्द्रामा इन्फेक्सनसमेत भएको देखियो । त्यसले गर्दा आन्द्रा सुन्निएको थियो । पीप निस्केर आन्द्रातिर फैलिएको थियो। आन्द्रामा इन्फेक्सन भएपछि त्यसले झन् छिटो पीप निकालेको र पेटभरि फैलिएको पत्ता लाग्यो ।’

ओली भन्छन्, ‘तर पीप रक्तनलीमा प्रवेश गर्न पाएनछ । डाक्टरहरूले हतारहतार मेरो अपरेसन गर्नुभयो । शल्यक्रियापछि मेरो ब्लडप्रेसर स्वाट्टै घटेछ । यसरी घटेछ कि मलाई बचाउनै सकिँदैन कि भन्ने आशंकामा डाक्टरहरू पुग्नुभएछ । प्रेसर बढाउने तेस्रो डोज औषधि दिँदा पनि बढेनछ । स्थितिमा कुनै सुधार आएनछ । डाक्टरहरूले त माया नै मार्नुभएछ ।’

उनले अगाडि भनेका छन्, ‘मलाई अब्जर्भेसनमा राखिएको थियो । म नबाँच्नेजस्तो भएपछि अपरेसन गर्दा चिरिएको घाउ नसिलाईकन त्यत्तिकै छोड्ने कि भन्ने पनि कुरा भएछ । तर अपरेसन पूर्ण गर्नुपर्छ भनेर घाउ सिलाइएछ । केही समय अब्जर्भेसनमा राखेपछि म बौरिएँ अर्थात् बाँच्ने अवस्थामा पुगें ।’

ओलीले तेस्रो घटनाका रुपमा २०३० मंसिर ३ गतेलाई उल्लेख गरेका छन् । जेल सार्ने बहानामा आफूलाई मार्न तयार पारिएको तर एक जना सुरक्षाकर्मीका कारण बाँच्न सफल भएको घटनलाई उल्लेख गरेका छन् । तेस्रो घटनालाई ओलीले यसरी उल्लेख गरेका छन्, ‘२०३० मंसिर ३ गते । रमरम साँझ, अँध्यारो फैलने क्रममा थियो । हामीलाई गौर थानाबाट बाहिर निकालियो र गाडीमा हालियो । त्यो गाडीमा गैंची र कोदालो पनि राखिएका थिए ।’

‘थानामा सब–इन्स्पेक्टर थिए, मोहनप्रसाद अधिकारी र हवल्दारको नाम शिव थियो । ती हबलदारको थर बिर्सिएँ मैले । थानामा ‘माथि’बाट एउटा पत्र आएको थियो । त्यो पत्रमा हामीलाई ‘अड्डा सार गरी माथि पठाइदिनू’ भनी लेखिएको रहेछ । अड्डा सार भनेको ठाउँ सार्ने अनि माथि पुर्याइदिनू भनेको चाहिँ मारिदिनु । अर्थात्, पत्रमा हामीलाई ठाउँ सारेर मारिदिनू भन्ने लेखिएको थियो ।’

हामीलाई राखिएको गाडी अगाडि बढ्यो । केही अघि पुगेपछि चोकजस्तो ठाउँ आयो । सब–इन्स्पेक्टर मोहनप्रसादले आदेश दिए, ‘गाडी दायाँ मोडेर लैजाऊ ।’ आदेश पाएपछि ड्राइभरले भन्यो, ‘बाटो त बायाँ हो सर ।’ मोहनप्रसादले थपे, ‘मलाई थाहा छ । दायाँ लैजाऊ ।’ त्यति नै बेला शिव हबलदार बोले, ‘तयारी देब्रेको छ, सर !’ त्यसपछि मोहनप्रसाद कड्किए, ‘म अफिसर हुँ, चुप लागेर बस् । नत्र ठीक हुन्न ।’

गाडी दायाँ मोडेर लगियो । पछि थाहा भयो, गाडी देब्रेतिर मोडेको भए हामीलाई मार्न तयारी गरिएको ठाउँ पुगिने रहेछ । त्यहाँ हामीलाई गोली हानी मार्ने मान्छे तयारी अवस्थामा राखिएको थियो । मारेर पुर्न खाल्डोसमेत खनिसकिएको रहेछ । दाहिने मोडिएको केही घण्टापछि हामी चन्द्रनिगाहपुर पुग्यौं, चकमन्न रातमा । दुई महिनादेखि हामीले एक छाक पनि पेटभरि खान पाएका थिएनौं ।

चन्द्रनिगाहपुरमा हामीलाई खाना खान दिइयो । लामो समयपछि खान पाएकाले त्यसबखत खाना यसरी खायौं कि, आफैंलाई लाज लाग्यो । तर भोकका अघिल्तिर लाजको के अर्थ र ! हामीले धेरै पटक खाना थप्यौं । त्यो दिन हामीलाई बायाँतिर मोडेर लगिएको भए गोली खाएर ढलिरहेका हुन्थ्यौं । कोही हामीलाई खाल्डोमा पुरिरहेका हुन्थे । तर गाडी दाहिने लाग्दा खाल्डामा पुरिने बेला हामी थपीथपी मासुभात खाइरहेका थियौं ।

त्यसरी खान पाउँदा बडो आनन्द आएको थियो । आनन्द मभित्र धेरैबेर टिक्न पाएन, एउटा कुराले पिरोल्न थाल्यो मलाई–अब यो सब–इन्स्पेक्टरको हालत के हुन्छ ? हामी त थप केही घण्टा बाँचौंला । तर उसको जिन्दगी के हुन्छ ? मैले सब–इन्स्पेक्टरलाई सोधें, ‘आखिर हामीलाई त मारिहाल्छन्, तपाईंले यत्रो जोखिम किन मोल्नुभयो ?’ उनले उत्तर दिए, ‘मलाई मारिहाल्दैनन् । हुन त तपाईंलाई पनि अब मार्दैनन् होला ।’

उनले थपे, ‘मैले आफूलाई मार्नुपर्ने गरी केही गरेको छैन । गए यही एउटा जागिर जान्छ । गाउँमा मेरा बा–आमाले जोगाएर राखेको खेतबारी छ, जोतेर खान पुग्छ, छोरा–छोरी पढाउन पुग्छ । मैले तपाईंहरूको कुरा सुनेको छु । तपाईंहरूले दिएको बयान पढेको छु । म देशभक्तहरूको हत्यामा आफ्नो कुनै पनि किसिमको संलग्नता जनाउन चाहन्नँ, जेसुकै सजाय भोग्नुपरोस् । म देशमा परिवर्तन होस्, जनताले सुख पाऊन् भन्ने चाहन्छु । मैले सेवा गर्न जागिर खाएको हुँ, यस्तो कुकर्म गर्न होइन । बरु म जागिर खान्नँ । मेरो चिन्ता नलिनुस् ।’

‘अलिकति दुःख देलान् तर म सुरक्षित छु,’ उनी निरन्तर बोलिरहेका थिए, ‘भोलि–पर्सि तपाईंहरूलाई यो सरकारले मार्न सक्छ । षड्यन्त्र भनेको यस्तो कुरा हो जसमा एक मिनेट बाँच्न सकियो भने त्यो पात्रको हातमा त्यही परिस्थिति हुँदैन ।’ षड्यन्त्र यस्तो चीज हो, तपाईंले एउटा खाल्डो फड्किनुभयो भने अर्को षड्यन्त्र नबन्न पनि सक्छ । यसबाट जोगिएपछि तपाईं जोगिएको जोगियै हुन पनि सक्नुहुन्छ ।’ उनले भनेजस्तै भयो, हामी जोगिएको जोगियै भयौं । त्यो दिन मलाई लाग्यो, यस धरतीमा दुई प्रकारका मान्छे हुने रहेछन् ।

एउटा शिव हबलदारजस्ता, जोसँग मेरो कुनै दुस्मनी थिएन तर २०३० असोज २३ गते गिरफ्तार परेको दिनदेखि मलाई उनले राम्रो व्यवहार कहिल्यै गरेनन् । किन उनले मलाई त्यस्तो गरे होलान् ? किन उनले हामीलाई मार्न उक्साए होलान् ? दोस्रो प्रकारका मानिस हुन्, सब–इन्स्पेक्टर मोहनप्रसादजस्ता । मैले उनलाई पहिला कहीँकतै चिनेको थिइनँ, कहिल्यै केही गुन लगाएको पनि थिइनँ । तर सरकारबाट पाउने मानपदवीको आस मारेर, जागिर धरापमा पारेर, अझ भनौं ज्यान नै जोखिममा राखेर उनी असल र मानवीय व्यवहार देखाउँदै थिए ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार १८:१८