सूचनाको शक्ति - The Power Of Information

        

सन्दीपलाई सर्वोच्चले दिएन विदेश गएर क्रिकेट खेल्ने अनुमति

सर्वोच्च अदालतले सन्दीप लामिछानेलाई विदेश गएर खेल्न पाउने अनुमति दिन अस्वीकार गरेको छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले लामिछानेविरुद्धको अर्को मुद्दा सर्वोच्चमै विचाराधीन रहेकोले दुवै मुद्दालाई लगाउमा राखेर सुनुवाइका लागि आइतबारका लागि पेसी तोकेको हो ।

नाबालिग बलात्कारको कसुरमा काठमाडौँ जिल्ला अदालतमा मुद्दाको पुर्पक्ष गरिरहेको क्रिकेटर लामिछाने बिहीबार सर्वोच्च अदालत पुगेका थिए ।

धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको आदेशमा प्रतिबन्धात्मक व्यवस्था रहेकाले उक्त आदेशको प्रतिबन्धात्मक बुँदाहरू हटाउन माग गर्दै लामिछानेले सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।

तर यसअघि नै सन्दीपलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग गर्दै सरकार सर्वोच्च अदालत पुगेको थियो । गत पुस २८ गते उच्च अदालत पाटनले सन्दीपसँग २० लाख रुपैयाँ धरौटी लिई तारेखमा रिहा गर्ने आदेश दिएको थियो ।

उच्च अदालत पाटनका न्यायाधीशहरू ध्रुवराज नन्द र रमेश ढकालको इजलासले मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म विदेश जान रोक लगाउने सहितका सर्तहरू राखेर धरौटीमा छाड्ने आदेश दिएको थियो । त्यसलगत्तै पुस २९ गते २० लाख रुपैयाँ धरौटी राखेर लामिछाने रिहा भएका थिए ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार १७:५०