नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोलि आफनो पार्टीले राष्ट्रपति पदका लागि मनोनय दर्ता गर्ने बताइसकेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा अध्यक्ष ओलीले सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै भने, ‘अन्ततिर के भइरहेको छ, मलाई थाहा छैन । तर, भोलि एमालेले राष्ट्रपतिमा मनोनयन दर्ता गर्छ ।’
उनले पुस १० गते नै राष्ट्रपतिबारे निश्चित भइसकेको समेत बताए । शुक्रबार बिहान नेपाली कांग्रेस, नेकपा माओवादीसहितको चार दलीय बैठकले निर्वाचनअघिकै गठबन्धन ब्युँताउने निर्णय गरेपछि ओलीले यस्तो प्रतिक्रिया दिएका थिए ।
चार दलीय बैठकमा नेपाली कांग्रेसलाई राष्ट्रपति र नेकपा एकीकृत समाजवादीलाई एक वर्ष सरकारको नेतृत्व गर्न दिनेबारे भएको छलफलमा करिब सहमति नजिक पुगेका छन् । तर, यता एमालेकै नेता पृथ्वीसुब्बा गुरुङले भने एकीकृत समाजवादी अध्यक्ष माधव नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाएमा एमालेले छुट्टै उम्मेदवार नउठाउने बताएका छन् । उनले नेपाल राष्ट्रपतिको उम्मेदवार भए एमालेले समर्थन गरेर जाने तयारी गरेको उनको भनाइ छ ।
नेता गुरुङले भनेका छन्, ‘राष्ट्रपतिको विषयमा कुनै पिक्चर स्पष्ट भएको छैन । को राष्ट्रपति हुन्छ भन्नेमा कुनै टुंगो छैन । यदि माधव नेपाल नै पुरानो गठबन्धनबाट उम्मेदवार भएमा हामीलाई नैतिक संकट पर्छ । उहाँलाई मत हालेर जान्छौं । पार्टीको कोही उम्मेदवार हुने छैन ।’ शनिबार बिहान बस्ने एमालेको सचिवालय बैठकले त्यसबारे आधिकारिक निर्णय गर्ने समेत बताएका छन् ।
सत्यपाटी संवाददाता । काठमाडौं