सूचनाको शक्ति - The Power Of Information

        

लोपोन्मुख राउटेको पहिचान

राउटे समुदायमा तीन थरका तीन मुखिया, के–के हुन्छ जिम्मेवारी ?

सरकारी तथा गैरसरकारी संस्थाले सहयोगका नाममा राउटेबीच विभाजन ल्याइदिएका छन् ।

एकदशक अघिसम्म एकजना मुखियाले पश्चिम नेपालका जङ्गलमा वर्षौँदेखि फिरन्ते जीवन बिताइरहेका राउटे समुदायको नेतृत्व गरेका थिए ।

एक मात्र मुखिया हुने परम्परा तोड्दै राउटे समुदायले विसं २०६९ सालमा भने तीन जना मुखिया बनायो । त्यसैले अहिले राउटे समुदायमा रास्कोटी, कल्याल र सोवंशी थरका अलगअलग मुखिया छन् ।

तीन थरका तीन मुखिया

सूर्यनारायण शाहीले रास्कोटी, वीरबहादुर शाहीले कल्याल र दिलबहादुर शाहीले सोमवंशी थरका मानिसलाई नेतृत्व गरिरहेका छन् ।

राउटे समुदायमा मानबहादुर शाहीले झन्डै ६ दशकसम्म मुखिया भएर काम गरेका थिए । त्यसपछि उनले आफ्ना ज्वाइँ महिनबहादुर शाहीलाई मुखिया पद हस्तान्तरण गरे । महिनबहादुरले पनि दुई दशकजति मुखिया राउटे समुदायको नेतृत्व गरे ।

चिप्लेर खुट्टा र ढाँडमा समस्या भएपछि हिँडडुल गर्न नसक्ने भन्दै महिनबहादुरले विसं २०६५ सालतिर मुखियाको जिम्मेवारी सूर्यनारायण शाहीलाई दिन खोजेका थिए । तर त्यतिबेला अरूले मानेन् ।

राउटे समुदायको उत्थानमा लामो समय काम गरेका भक्तबहादुर शाहीका अनुसार विसं २०६९ सालतिर दैलेखको कुशापानीबाट तीनै थरका राउटे आआफ्नै थरका मुखिया बनाएका थिए ।

राउटे युवा लोकेन्द्रबहादुर शाही एकजना मुखियाले मात्रै राम्रोसँग जनता हेर्न नसक्ने भएकोले तीन–तीनजना मुखिया बनाएको बताए ।

उनले भने, ‘जनतालाई सजिलो होला भनेर तीनजना मुखिया बनाएको हो । मुखिया तीनजना भए पनि कुरा भने एउटै हुन्छ ।’

बीस–बाइस वर्षसम्म मुखिया चलाएका महिनबहादुर शाही पनि जनतालाई सजिलो होस् भनेर तीनजना मुखिया बनाइएको बताउँछन् ।

उनी भन्छन्, ‘उमेर पनि ढल्दै गयो, चिप्लेर घुँडा र ढाँडमा समस्या आएपछि हिँडडुल गर्न पनि नसक्ने भएँ । त्यसैले मुखियाको जिम्मेवारी अरूलाई हस्तान्तरण गरेँ ।’

तर उनी तीनैजना मुखियाले जनताले सोच जस्तो राम्रो काम भने (समयमै भत्ता ल्याउन पहल नगरेको र टाढाटाढा पनि नगएको) गर्न नसकेको गुनासो गर्छन् ।

राउटे समुदायका लागि महत्त्वपूर्ण निर्णयहरू भने मुखियाले गर्ने र मुखियाहरूले गरेको निर्णय सबैले अनिवार्य रूपमा मान्ने गर्छन् । नयाँ ठाउँमा बस्ती सार्दा र ठूला चाडपर्व मनाउँदा तीनैजना मुखियाले सामूहिक रूपमा निर्णय लिन्छन् ।

सरकारी वा गैरसरकारी निकायमा मान्छेसँग पनि उनीहरूले सामूहिक रूपमै भेटेर आफ्ना कुरा राख्छन् । खानेपानी र वनजङ्गलको सुविधा भएको तथा सबै घर अट्न सक्ने ठाउँ बस्ती सार्छन् ।

विश्वासिला र टाठाबाठा मुखिया

कम जाँडरक्सी खाने, सबैका विश्वासिला, टाठाबाठा र भन्नबोल्न सक्ने व्यक्तिलाई राउटे समुदायले मुखियाका रूपमा चुन्छ ।

मुखियाले भने जनताका समस्या र पिरमर्का बुझेर समाधानका लागि आवश्यक पहल गर्छन् । भत्ता र रासन ल्याउन पहल गर्ने, झैझगडा हुन नदिने, भए मिलाउने, धेरै रक्सी खानु हुँदैन भनेर सम्झाउने र अप्ठ्यारो पर्दा साथ र सहयोग दिने काम मुखियाले गर्छन् ।

घर बनाउन नसक्ने बूढाबूढीका घर बनाइदिने र बजारबाट रासनपानी ल्याउने नसक्नेलाई पनि उनीहरुले सघाउँछन् । एउटा मुखियाले अर्को मुखियाका कुरामा खासै विमति राख्दैनन् र हस्तक्षेप पनि गदैनन् ।

उनीहरू आफैँले चाहेर हट्न सक्छन् । तर समुदालये भने अहिलेसम्म मुखिया हटाएकोे छैन । तर पछिल्लो समय भने बदलिँदो समाजको प्रभाव जङ्गलका राउटे समुदायमा पनि परेको देखिन्छ ।

युवा पुस्ताले मुखियालाई खासै नटेर्ने गरेको राउटे समुदायको रेखदेखमा खटिएका सामाजिक सेवा केन्द्र सोसेक दैलेखमा कार्यरत लालबहादुर खत्री बताउँछन् ।

उनी भन्छन, ‘मुखियाले जाँडरक्सी नखाऊ, बिना काम नहिँड भनेर सम्झाउँछन् । तर राउटे युवायुवतीले टेर्दैनन् । आफ्नै किसिमले अघि बढ्छन् ।’

मुखियालाई सघाउन ठालु पनि

राउटे समुदायमा मुखियालाई सघाउन ठालु पनि हुन्छन् । अहिले हरिबहादुर, धनबहादुर र लोकेन्द्रबहादुर शाही गरी तीन जना ठालु छन् ।

आफूहरूले विशेषगरी मुखियाले भनेका कुरा जनतासम्म र जनताका समस्या एवं गुनासा मुखियासम्म पुर्याउने काम गर्ने गरेको ठालु लोकेन्द्रबहादुर शाहीले बताउँछन् ।

अत्याधिक जाँडरक्सी खाए पनि राउटेबीच खासै झैझगडा हुँदैन । तर कहिलेकाहीँ भने कसैले जाँडरक्सी खाएर होहल्ला गर्न थाले अरू चुप लाग्छन् ।

बोल्यो भने झन् धेरै कराउँछन् भनेर जाँडरक्सी खाएकोसँग कोही पनि बोल्दैनन् । खाएकै अवस्थामा हात हाले पनि सहेरै बस्छन्, तर प्रतिकार गर्दैनन् ।

सहयोगका नाममा राउटेबीच विभाजन

राउटे समुदायको उत्थानमा लामो समय काम गरेका दैलेखका पत्रकार भक्तबहादुर शाही भने सरकार तथा गैरसरकारी सहयोगका नाममा राउटेबीच विभाजन ल्याइएको दाबी गर्छन् ।

उनी भन्छन्, ‘एनजीओ आइएनजीओले अलि टाठाबाठालाई साथमा लिएर काम गर्दा राउटेहरूमा तँभन्दा म ठूलो भन्ने भावना पैदा भयो अनि एकले अर्कालाई नटेर्ने भए । मुखिया पनि आफ्नै थरका बनाए ।’

राउटे समुदायमा कल्याल जातिको बहुल छ । रास्कोटी, सोवंशी र कल्यालबीच एकअर्कासँग विवाह हुन्छ । कल्यालको सङ्ख्या धेरै हुँदा भएकाले उमेर पुगेका युवायुवतीको विवाह हुन अलि मुस्किल पर्ने गरेको देखिन्छ ।

तर सोवंशी र रास्कोटीका छोराछोरीको भने उमेर नपुग्दै पनि विवाह हुने गरेको देखिन्छ । अहिले दैलेखको चुप्रानजिकै बस्दै आएका राउटे समुदायको जनसङ्ख्या १४२ जना रहेको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार १३:३३