सूचनाको शक्ति - The Power Of Information

        

सत्ता गठबन्धन फेरिने संकेत

एमालेले सत्ता गुमाउने संकेत, ओली र प्रचण्डबीच आज निर्णायक वार्ता

पहिलो पार्टी बनाउन लागिपरेका एमाले अन्ततः सत्ता गुमाउने संघारमा पुगेको छ ।

रौतहट क्षेत्र नम्बर २ बाट स्वतन्त्र चुनाव जितेका किरण साह १९ पुसमा एमाले प्रवेश गरे । ७ फागुनको साँझ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालसँगको चार घण्टा लामो भेटमा दुई पार्टी मिलाउने प्रस्ताव राखे । एकीकृत समाजवादीलाई एमालेमा गाभे नेपाललाई राष्ट्रपति बनाउने ओलीको प्रस्ताव थियो ।

एकीकृत समाजवादीका अध्यक्ष नेपालले १० फागुनमा बसेको सचिवालय बैठकमा यसबारे ब्रिफिङ गरेका थिए । ‘तपाईंको पार्टी एमालेमा मिलाऊँ र ठूलो बनाऊँ,’ ओलीको प्रस्तावबारे नेपालले भने, ‘संसदको ठूलो दल भएपछि राष्ट्रपति मात्र होइन अरु धेरै गर्न सक्छौँ भन्ने ओलीजीले प्रस्ताव राख्नुभयो ।’

कांग्रेस, माओवादी केन्द्रसहितको पाँच दलीय गठबन्धन फुटेर अनपेक्षित रुपमा आफ्नो पार्टी सत्तामा पुगेपछि अध्यक्ष ओलीले एमालेलाई पहिलो पार्टी बनाउने प्रयास सुरु गरेका हुन् । त्यसका लागि स्वतन्त्र सांसद र एमालेबाटै फुटेर १० सिट जितेको एकीकृत समाजवादीलाई तान्ने प्रयास गरिरहेका छन् ।

अहिले ८९ सांसद (एक निलम्बित) सहित नेपाली कांग्रेस सबैभन्दा ठूलो दल हो । एमालेका ७८ जना सांसद छन् । एमालेले १० सिट प्राप्त गरे कांग्रेससँग बराबरी गर्न सक्छ । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले पहिलो पार्टी बनाउन सके अलि बढी सुरक्षित हुने बताए ।

‘पार्टी ठूलो र पहिलो भएपछि सबै विकल्प खुला हुन्छन्,’ उनले भने, ‘राष्ट्रपति बनाउनदेखि सरकारमा पनि बढी भूमिका रहन्छ । आफ्नो विचार अनुसार देश चलाउन पनि ठूलो र पहिलो पार्टी चाहिन्छ । त्यसमाथि हाम्रो अध्यक्ष एकपटक ठूलो दलको प्रधानमन्त्री बन्न चाहनु भएको छ, त्यसको आधार संसदमा संख्याले नै बनाउँछ ।’

‘खासमा सबै कम्युनिस्ट मिलाएर बहुमत नै पुर्याउनुपर्छ,’ उनले थपे, ‘विगतमा गरिएको कमजोरीले त्यही पाठ दियो ।’ तर, ओलीको यो प्रयासले सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्र र सत्तामा फर्किन खुट्टा उचालेर बसेको कांग्रेसलाई थप सशंकित तुल्याएको छ । त्यसैले पनि माओवादी लगायत अन्य दल एमालेलाई राष्ट्रपति दिनै नहुने अडानमा छन् ।

नेपाली कांग्रेसका एक पदाधिकारीले ओलीले ठूलो पार्टीको नेतृत्व गर्दा दुई–दुई पटक संसद् भंग गरेको स्मरण गर्दै संविधान र गणतन्त्रको रक्षाका लागि अहिलेको एमाले पहिलो दल बन्न नहुने बताए । ‘फेरि संसद् भंग गरेर अस्थिरता फैलाउन एमालेलाई पहिलो दल बनाउने ?’ उनले प्रश्न गरे, ‘हिजो संविधान, लोकतन्त्र जोगाउन हामी मिलेका हौँ । यदि कुनै हालतमा एमाले पहिलो दल भयो भने लेखेर राख्नुस् यो संविधान धरापमा पर्छ ।’

‘ओलीजीले आफूलाई सहज हुने राष्ट्रपति खोज्नुको कारण त्यही हो,’ उनले थपे । तत्कालीन पाँच दल एकै ठाउँ उभिएर सरकार चलाउने उनको भनाइ छ । माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले संविधान, गणतन्त्रको रक्षा, संघीयता कार्यान्वयनमा सहज हुने दलहरु एक ठाउँ उभिने बताए ।

अन्य दलमात्र होइन, ओलीले एमालेमा भित्र्याउन चाहेको दल एकीकृत समाजवादीका नेताहरु पनि उनीसँग सशंकित बनेका छन् । समाजवादीका अध्यक्ष नेपालले एमालेसँग एकता होइन, नेकपा नै ब्युँताउनुपर्ने धारणा राखे । ‘ओलीको प्रयास ढिला भयो,’ एकीकृत समाजवादीको एक पदाधिकारीले भने, ‘उहाँको कदम सोचेजस्तो नभएर ब्याक फायर हुन खोज्दैछ ।’

सम्मानित नेता झलनाथ खनाल, महासचिव बेदुराम भुसाल, उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा लगायतका नेताहरुले पार्टी गाभेर राष्ट्रपति पद लिन नहुने अडान सार्वजनिक गरेका छन् । जसका कारण पहिलो दल बन्ने ओलीको इच्छा पुरा नहुने मात्र होइन, वर्तमान सत्तारुढ गठबन्धन नै टुट्ने संघारमा पुगेको छ ।

एमाले र एकीकृत समाजवादी मिल्ने चर्चाले अन्य दल तर्सिएको र त्यसले वर्तमान सत्ता गठबन्धनमा मतभेद सिर्जना गर्न सघाएको एकीकृत समाजवादीका ती पदाधिकारीले टिप्पणी गरे । ‘एमाले र एकीकृत समाजवादी मिलेर हामीलाई अप्ठेरो पार्छन् भन्ने भय कांग्रेस र माओवादीलाई छ,’ ती पदाधिकारीले भने ।

कतिपय शक्ति केन्द्रलाई राष्ट्रपति, प्रधानमन्त्री र सभामुख कम्युनिस्टलाई दिनु हुन्न भन्ने परेको छ । एमाले लगायतका दलको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड १० पुसमा प्रधानमन्त्री चुनिएका थिए । त्यसबेला एमालेले पाउने भनिएको राष्ट्रपति पदमा प्रचण्डले राष्ट्रिय सहमति हुनुपर्ने अडान राखेपछि ओली र प्रचण्डबीच आज निर्णायक वार्ता हुँदैछ ।

बुधबार र बिहीबार भएका दलहरूका अलग अलग छलफलमा पुरानो गठबन्धन ब्युँताउने एजेन्डा पनि प्रमुख बनेको थियो । यस्तो अवस्थामा ओलीले बिहीबार बालकोटमा एक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधनका क्रममा सत्ता गठबन्धन धरापमा परेको संकेत गरेका थिए । उनले फागुन १ मा सरकारले मनाएको जनयुद्ध दिवसको चर्को आलोचना मात्रै गरेनन्, अझै पनि माओवादीमा हिंसाको धङधङी रहेको भन्दै प्रचण्डमाथि आक्रोश पनि पोखे ।

ओलीको यो आक्रोशबीच बिहीबार दिनभर एमाले इतरका दलहरू राष्ट्रपति निर्वाचनबारे रणनीति बनाउन जुटे । बिहीबार माओवादी–एकीकृत समाजवादी तथा जनता समाजवादी पार्टी–माओवादी वार्तापछि यी तीनवटै दलका नेता सिंहदरबारमा जुटेका थिए । उनीहरूले राष्ट्रपतिको उम्मेदवाबारे शुक्रबार कांग्रेससहित बसेर निष्कर्षमा पुग्ने तयारी गरेका छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार ०९:४१