सूचनाको शक्ति - The Power Of Information

        

नागरिकता र शैक्षिक प्रमाणपत्र प्रकरण

प्रहरी कर्मचारीका ‘नागरिकता र शैक्षिक प्रमाणपत्र’ अख्तियारको छानविनमा

अख्तियारले अन्य प्रहरी अधिकारीका नागरिकताका शैक्षिक प्रमाणपत्र र नागरिकताका बारेमा विवरण माग्ने तयारी गरेको छ ।

नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआइजी) अशोक सिंहको नागरिकता र शैक्षिक प्रमाणपत्रको घटना यतिबेला छताछुल्ल भइसकेको छ । सिंहले राजीनामा दिएर पनि स्वीकृत भइसक्यो ।

यतिबेला सुरक्षा निकायमा जागिर खाएका अन्य धेरै कर्मचारीको नागरिकता र शैक्षिक प्रमाणपत्रबारे पनि प्रश्न उठिरहेको छ । सिंह लगायत अन्य प्रहरी अधिकारीको पनि नागरिकतामा उल्लेख भएका जन्म मितिका विवाद बाहिर आएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षा निकायहरु प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत कर्मचारीको अभिलेख पठाउन प्रहरी, सशस्त्र र विभागको मुख्यालयमा पत्राचार गर्ने तयारी गरेको छ ।

तत्काललाई डीआइजी सिंहविरुद्ध उजुरी आए पनि त्यही उजुरीउपर अन्य प्रहरी अधिकारीका नागरिकताका बारेमा प्रश्न उठेपछि आयोगले सम्बद्ध अधिकारीका शैक्षिक प्रमाणपत्र र नागरिकताका बारेमा विवरण माग्ने तयारी गरेको हो ।

अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईले सिंहको उजुरी उपर छानविन भइरहेको बताए । उनले भने, ‘अहिले सिंहविरुद्ध उजुरी आए पनि सुरक्षा निकायमा धेरैको शैक्षिक प्रमाणपत्र र नागरिकताबारे प्रश्न आइरहेका छन् । ती सबैको छानविन गर्नुपर्ने देखिन्छ । आयोग यसबारे गम्भीर छ ।’

नेपाली सेनाको हकमा सैनिक अदालतले हेर्ने भए पनि अन्य सुरक्षा निकायको सम्बन्धमा अख्तियारले उजुरी अनुसार छानविन गर्नेछ । स्रोतका अनुसार सञ्चारमाध्यममा आएका विषयमा आयोगले छानविन गर्न चाहेमा गर्न सक्नेछ ।

यसका लागि आयोग आफैं अग्रसर हुनुपर्ने देखिन्छ । अख्तियारमा लामो समय काम गरेका एक अधिकृतले भने, ‘डीआइजी सिंहको बारेमा जे जति सूचना बाहिरिए पनि अन्य प्रहरी अधिकृतका पनि नाम आएका छन्, आयोगले चाह्यो भने सबैको छानविन गर्नसक्छ ।’

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार ०७:०९