सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानुमान

केही स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना

गण्डकी र प्रदेश–१ लगायत देशका पहाडी भू–भागमा आज बिहान आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ ।

बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१ को पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको भनाइ छ ।

आज राति प्रदेश–१ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश–१ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले बताएको छ । नेपालमा अहिले पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार ०६:४७