सूचनाको शक्ति - The Power Of Information

        

सार्वजनिक बिदाको दिन पनि अत्यावश्यक कार्यालय खुल्ला

सरकारले अत्यावश्यक कार्यालय सार्वजनिक बिदाको दिन पनि खोल्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अत्यावश्यक सरकारी कार्यालय शनिबार बाहेक सार्वजनिक बिदाको दिन पनि खोल्ने निर्णय भएको एक मन्त्रीले बताए ।

ती मन्त्रीका अनुसार बैठकले सार्वजनिक बिदाको दिन कार्यालय आउने कर्मचारीलाई थप सुबिदा दिने वा अन्य कुनै व्यवस्था गरेर भए पनि सार्वजनिक बिदाको दिन सरकारी कार्यालय खोल्ने निर्णय गरेको हो । सरकारले अत्यावश्यक कार्यालय कुन–कुन हुन् भनेर सूचीसमेत तयार गर्ने निर्णय गरेको छ ।

यस्तै मन्त्रीपरिषद्को बैठकले मेलम्ची खानेपानी आयोजनाको काम पूरा नगरी एकतर्फी रूपमा काम छोडेर हिँडेको इटालियन कम्पनी सीएमसीसँग मुद्दा लड्ने निर्णय गरेको छ । विदेशी कानुन व्यवसायी राखेर विदेशी अदालतमा मुद्दा लड्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।

२०७५ साल पुसमा सीएमसीले ठेक्का अनुसार काम पूरा नगरी इटली फर्किएको थियो भने माघमा सम्झौता तोडिएको थियो । सीएमसी कम्पनीले नेपाल सरकारले मेलम्ची खानेपानी आयोजनामा काम गरेको रकम नदिएको भनेर सिंगापुरमा रहेको सिंगापुर इन्टरनेश्नल आर्विटेशन सेन्टरमा मुद्दा दायर गरेको छ ।

अन्तर्राष्ट्रिय स्तरको ठेक्कामा पछि विवाद भएमा कहाँ मुद्दा हाल्ने भनेर सम्झौतामै उल्लेख भए अनुसार सीएमसी र नेपाल सरकारबीच भएको सम्झौता अनुसार सिंगापुरमा रहेको सो निकायमा मुद्दा दायर गर्ने उल्लेख थियो ।

सो कम्पनीले नेपाल सरकारसँग झण्डै सात अर्ब रुपैयाँ दाबी गर्दै मुद्दा दायर गरेको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए । सो मुद्दाको डिफेन्ड गर्नका लागि मन्त्रीपरिषद् बैठकले अन्तर्राष्ट्रिय स्तरका कानुन व्यवसायी खोजेर मुद्दा लड्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहीबार १९:४६