सूचनाको शक्ति - The Power Of Information

        

वैदेशिक रोजगार विभागमा जाँदा परिचयपत्र अनिवार्य

वैदेशिक रोजगार विभागले सेवाग्राहीहरुलाई आफ्नो परिचयपत्र खुल्ने कागजात बिना कार्यालयमा प्रवेश गर्न नदिने भएको छ ।

सेवाग्राहीले कार्यसम्पादनको क्रममा कार्यालय परिसरमै नारा जुलुस गर्ने क्रम बढेपछि विभागले यस्तो नियम बनाएको हो ।

कार्य वातावरणलाई शान्त र सुव्यवस्थित बनाउन सेवाग्राहीको प्रवेशमा कडाइ गर्नुपरेको विभागका सूचना अधिकारी कृष्णप्रसाद भुसालले बताए ।

पछिल्ला दिनमा कानुन, विधि र प्रक्रियाविपरीत कार्यालयभित्र नाराजुलुस गर्ने, अमर्यादित भाषाको प्रयोग गरी आतंक मच्चाउने जस्ता गतिविधि बढेपछि काम गर्ने वातावरण प्रभावित हुँदै गएको उनको भनाइ छ ।

साथै, उनले कार्यालयको काम कारबाहीप्रति कुनै गुनासो भए कानुनी प्रक्रियाबमोजिम गुनासो लिएर आउन सेवाग्राहीलाई आग्रहसमेत गरेका छन् ।

कार्यालयको कार्य वातावरणलाई शान्त र सुव्यवस्थित बनाई सम्बन्धित व्यक्तिको प्रवेशलाई व्यवस्थित गर्न विभाग प्रवेशमा केही कडाई गरिएको सूचना जारी गरेको छ ।

‘विभागमा काम लिएर आउनु हुने सेवाग्राहीहरुले आफ्नो परिचयपत्र खुल्ने कागजात लिई विभाग प्रवेश गर्नुहुन अनुरोध छ,’ आज जारी सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहीबार १८:३५