सूचनाको शक्ति - The Power Of Information

        

सशस्त्रका बिओपीमा खटिँदैछन् डिएसपी

सशस्त्र प्रहरी बलले बोर्डर आउटर पोष्ट (बिओपी)मा डिएसपीलाई खटाउने तयारी गरेको छ । हाल इन्सपेक्टर मात्र बिओपीमा इन्चार्जका रुपमा खटिँदै आएका छन् ।

डिएसपीको कमाण्ड हुँदा चेन अफ कमाण्ड पनि बलियो हुने र सीमामा प्रभावकारी काम हुने निष्कर्षका आधारमा डिएसपी खटाउन लागिएको सशस्त्र प्रहरीका एक उच्च अधिकारीले बताए ।

‘सशस्त्र प्रहरीमा डिएसपीलाई कमाण्ड पनि कम छ,’ ती अधिकारीले भने, ‘अर्काेतर्फ एसपीले सिधैं इन्सपेक्टरलाई कमाण्ड गर्नुभन्दा डिएसपी हुँदै कमाण्ड गर्दा चेन अफ कमाण्ड पनि बलियो हुने र सीमा सुरक्षामा प्रभावकारी काम हुने हाम्रो विश्वास छ ।’

प्रारम्भिक चरणमा ४५ वटा संवेदनशील बिओपीमा डिएसपी खटाउने गरी अध्ययन गरिएको छ । त्यसमा विगतमा भन्सार गुल्म रहेका बिओपीहरु समेत छन् । यसरी बिओपी इन्चार्जका रुपमा खटिने डिएसपीलाई नजिकका अन्य बिओपीको समेत जिम्मेवारी दिएर खटाउन लागिएको छ ।

नेपालको सीमामा खटिएको भारतीय सुरक्षा फौज सशस्त्र सीमा बल (एसएसबी)ले पनि यसैगरी कम्पनी कमान्डरको अवधारणा अनुसार सुरक्षाकर्मी खटाएको छ । नेपालले पनि त्यही प्रणाली अवलम्बन गर्न लागेको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहीबार १८:२६