सूचनाको शक्ति - The Power Of Information

        

तनावले यौन स्वास्थ्यलाई कसरी असर गर्छ ?

आज पनि धेरैजसो मानिसहरु सेक्स सम्बन्धी समस्याको बारेमा कुरा गर्न हिचकिचाउँछन् । आजभोलि मानिसमा तनाव, चिन्ताको स्तर यति बढेको छ कि यसको कारणले पनि यौन स्वास्थ्यमा नकारात्मक असर परेको छ ।

तनाव वा अन्य मानसिक समस्याले मानिसमा यौन दुर्बलता (सेक्सुअल डिस्फङ्सन) निम्त्याउँछ । यौन दुर्बलता के हो र तनावले यौन स्वास्थ्यलाई कसरी असर गर्छ त ?

यौन दुर्बलता र यसका कारणहरू

यौन दुर्बलता भनेको एक प्रकारको यौन रोग नै हो । यस्तो अवस्थामा सेक्सको इच्छा कम हुन थाल्छ । यौन दुर्बलता जुनसुकै उमेरका मानिसहरूमा हुन सक्छ ।

तर, उमेरसँगै यसको सम्भावना पनि बढ्दै जान्छ । तनाव यौन दुर्बलताको ठूलो कारण हो । यसबाहेक यौन आघात, मधुमेह, मदिरा, निश्चित औषधिको सेवन, मुटु वा अन्य शारीरिक रोगका कारण पनि यौन दुर्बलता हुन सक्छ ।

यौन दुर्बलतामा कम यौन इच्छा, यौन उत्तेजनामा कमी वा समस्या, स्खलनमा समस्या, योनीमा दुखाइ जस्ता समस्याहरू समावेश छन् ।

तनावले यौन स्वास्थ्यलाई कसरी असर गर्छ ?

सेक्स तनाव कम गर्ने उत्तम उपाय हो । यसले एन्डोर्फिनलगायत अन्य हर्मोनहरू निकाल्छ, जसले मुड सुधार गर्छ ।

तर, अर्कोतर्फ तनाव र चिन्तामा हुनुले तपाईंको यौन स्वास्थ्यलाई पनि नराम्ररी असर गर्न सक्छ ।

तनावका कारण पुरुषलाई इरेक्टाइल डिसफङ्शन हुने सम्भावना हुन्छ । तनावले पुरुष र महिलाको यौन स्वास्थ्यलाई असर गर्छ ।

तनाव के हो र यसको लक्षण के हन् ?

आजभोलिको व्यस्त जीवनमा मानिसहरु अव्यवस्थित जीवनशैली अपनाउँदा तनाव बढ्न थालेको छ । तनाव एक प्रकारको शारीरिक प्रतिक्रिया हो ।

जुन भावनात्मक, शारीरिक, रासायनिक कारणले हुन्छ । तनाव हुँदा मानिसमा क्रोध वा रिस उठ्ने, बेचैनी, चिडचिडापन, एक्लोपन जस्ता भावनात्मक लक्षणहरू देखिन सक्छन् ।

यो समस्यालाई समयमै समाधान गर्न सकिएन भने व्यक्ति डिप्रेसन, अस्वस्थ यौन जीवनलगायत अन्य स्वास्थ्य समस्याको सिकार हुन सक्छ ।

तनाव कम गर्ने उपाय

  • तपाईंलाई तनाव दिने कारणहरूबाट टाढा रहने प्रयास गर्नुहोस् ।
  • मद्यपान, धुम्रपानको अत्याधिक उपभोगबाट बच्नुहोस् ।
  • कुनै पनि कुरामा धेरै चिन्तित नहुनुहोस्, यसले तनाव पनि बढाउँछ ।
  • तनावका कारण कुनै शारीरिक वा यौन समस्या छ भने अवश्य चिकित्सकसँग कुरा गर्नुहोस् ।
  • मुड बढाउने खानेकुरा खानुहोस् । तरकारी, फलफूल प्रशस्त खाने । आहारमा ट्रान्स फ्याट, चिनीयुक्त खानेकुरा समावेश नगर्नुहोस् ।
  • आफ्नो मनपर्ने काम गर्ने प्रयास गर्नुहोस् । गीतहरू सुन्नुहोस्, किताबहरू पढ्नुहोस्, साथीहरूसँग घुम्न जानुहोस् ।
  • ‘फिल गुड’ हर्मोन सेरोटोनिन रिलिज हुने गतिविधिहरू गर्नुहोस् । पर्याप्त सुत्नुहोस्, पानी पिउनुहोस् तथा स्वस्थ खाना खानुहोस् ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहीबार १४:३६