सुदूरपश्चिमको विकासको मुल ढोकाको रुपमा परिचित बझाङको ताक्लाकोट सडक खण्डको निर्माण गर्ने जिम्मा नेपाली सेनालाई दिन साइपालका गाउँपालिकाका जनप्रतिनिधिहरूले संघीय सरकारसँंग माग गरेका छन् ।
निर्माण व्यवसायीबाट काम गर्दा ढिलो गरेको निष्कर्षसँगै सेनाको जिम्मा दिन साइपालका जनप्रतिनिधिहरूले माग गरेका हुन् । दक्षिणको भारत र सुदूरपश्चिम प्रदेशको त्रिदेशीय नाका जोड्ने यस सडक खण्डलाई बझाङ जिल्लाका साथै सुदूरपश्चिम प्रदेशकै विकासको मेरुदण्डका रुपमा लिइएको भए पनि सडक निर्माणको कामले तीब्रता पाउन सकेको छैन ।
कठिन चट्टानी भीरपाखा फुटाउन मेसिनरी साधन भरिपूर्ण भएको नेपाली सेनालाई ताक्लाकोट सडक खण्ड निर्माण गर्ने जिम्मा दिनुपर्ने साइपाल गाउँपालिकाका अध्यक्ष मानवीर बोहराले बताए । सेनाले छोटो समयमै त्यस क्षेत्रको काम सम्पन्न गर्नसक्ने आकलन भएको जनप्रतिनिधिको निष्कर्ष रहेको अध्यक्ष बोहराको भनाइ छ ।
निर्माण व्यवसायीको जिम्मा दिँदा यहि गतिमा हुने हो भने यो काम गर्न अझै १० वर्ष लाग्न सक्ने उनको भनाइ छ । सेनाले काम गरिरहेको हुम्ला लगायतका जिल्लामा सेनाले रात दिन नभनी काम गरिरहेको उनले उदाहरण दिएका छन् । निर्माण व्यवसायी र सेनाको काममा निकै भिन्नता रहेको जनप्रतिनिधिको ठम्याइँ छ ।
संघीय सरकारले प्रत्येक वर्ष बजेट छुट्टर्याएर सुस्त गतिमा काम भयो भन्नुभन्दा तत्काल नेपाली सेनाको जिम्मा लगाउनु उचित रहेको अध्यक्ष बोहराले बताए । बुधबारमात्रै बझाङका प्रतिनिधिसभा सदस्य भानुभक्त जोशीले उक्त सडकखण्डको अनुगमन गरेका छन् । यो बर्ष सडक निर्माणको कामले गति नलिएको समेत जोशीले बताए ।
कामलाई छिटोछरितो अघि बढाउन निर्माण कम्पनीलाई पनि निर्देशन दिएको उनको भनाई छ । साइपाल गाउँपालिका उपाध्यक्ष डोल्मा तामाङले केही दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँंग आफूले भेटका क्रममा ताक्लाकोट सडक खण्डको काम गर्ने जिम्मा सेनालाई दिनुपर्ने माग गरेको बताए ।
सदरमुकाम चैनपुरबाट उत्तरी खण्डमा निर्माण भैरहेको यो सडक छिटोछरितो निर्माण गर्न यस क्षेत्रका बासिन्दाहरुको चाहना भए पनि सडक निर्माणको ठेक्का लिएका निर्माण कम्पनीहरुको लापरर्बाहीका कारण काम ढिला भएको स्थानीयहरुले बताएका छन् । रूपातोलादेखि साइपाल गाउँपालिकाको धुलीसम्म सडक निर्माणको जिम्मा लिएको नागार्जुन जेभी कम्पनीको काम झन् सुस्त देखिएको छ ।
रुपातोलाबाट धुलीसम्म नागार्जुन निर्माण सेवाले २०७४ मंसिरमा काम सुरु गरेको थियो । हालसम्म ७५ प्रतिशत काम सकिएको र बाँकी ३० प्रतिशत काम गर्न अझै बाँकी रहेको चैनपुर ताक्लाकोट सडक खण्डका डिभिजनल ईन्जिनियर तुलाराम शर्माले बताए ।
सत्यराज सिंह । बझाङ