सूचनाको शक्ति - The Power Of Information

        

आमाको दुईथरी काजक्रिया, दाजुको घरमा पुरेत, भाइको घरमा नेताको भाषण !

गत माघ २९ गते महोत्तरीको बर्दिबास निवासी बिरु बलम्पाकीकी आमा राजकुमारी बलम्पाकीको ८०, वर्षको उमेरमा निधन भयो । दम र मुटुको समस्याले पीडित राजकुमारी लाई उपचारगर्दा पनि आफन्तले बचाउन सकेनन् ।

मृत्युपछि माघ १ गते बर्दिबास नजिकैको रातु खोलास्थित घाटमा राजकुमारीको पार्थिव शरीर अन्त्येष्टि गरियो । पुरेतले दुई छोरा (सोम र बिरु)लाई घाटमै कपाल खौरिन आग्रह गरे । पुरेतले भनेअनुसार दाजुले खोलामै कपाल खौरिए । लगाइरहेका कपडा फालेर सेता कपडा पहिरिए । जसोजसो पुरेतले भने, उनले त्यसैत्यसै गरे । कोरामा बसे, छोइछिटो बारे ।

तर, राजकुमारीका कान्छा छोरा बिरु, जो महोत्तरीकै गौशाला नगरपालिकाका शिक्षा शाखाका प्रमुख (अधिकृत) छन्, उनले भने हिन्दू धर्ममा आधारित मृत्यु संस्कारका कुनै पनि विधि अवलम्बन गर्न चाहेनन् । दाजु कोरामा बसे, ढिकुरो उठाए, फुटाए । आमाको नाममा दिनहुँ पिण्डपानी दान गरे । घरमा गरुढ पुराण लगाए । पुरेतले भनेअनुसार परम्परागत मृ,त्यु संस्कारका सबै विधि पूरा गरे ।

भाइले भने परम्परागत हिन्दू संस्कारअुनसार आमाको काजक्रिया गर्न अस्वीकार गरे । समाजका कतिपयलाई उनको यो तरिका मन परेन । बिरुले पितापुर्खाको पालादेखिको धर्मसंस्कार नमानेको समाज भाँडेको भन्दै उनीहरुले प्रत्यक्ष, अप्रत्यक्ष रुपमा उनको आलोचनासमेत गरे । त्यसपछि उनले आफूलाई अवैज्ञानिक, अनावश्यक बोझिला र रुढिवाद लागेको मृ,त्यु संस्कारका विषयमा समाजमा बहस सिर्जना होस् भन्ने चाहे ।

मंगलबार दाजुको घरमा आमाको काजक्रियाको अन्तिम विधि चल्दै थियो । पुरेतले भनेको विधिअनुसार मलामी गएकाहरु चोख्याउने काम हुँदै थियो । शय्यादान, गाईदान, धनदौलत दान हुँदै थियो । बिरुको घरमा भने जनसांस्कृतिक महासंघ महोत्तरीले राजकुमारीको स्मृतिमा श्रद्धाञ्जली सभा राख्यो । बिरु आफैँ जनसांस्कृतिक महासंघ र प्रगतिशील लेखक संघको केन्द्रीय सदस्य हुन् ।

श्रद्धाञ्जली सभामा पूर्वशिक्षामन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेल, राष्ट्रियसभाकी पूर्वउपाध्यक्ष शशिकला दाहाल, कुरीतिविरुद्धको अन्तर्राष्ट्रिय अभियान, सोच नेपालका सल्लाहकार तथा लेखक रामदेव पाण्डे, माओवादी केन्द्रका केन्द्रीय सदस्य राजु खड्का, सर्लाहीको हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकीलगायतलाई वक्ताका रुपमा निम्त्याइएको थियो ।

उनले कम्युनिस्ट पार्टीका ठूला नेताहरुले नै कुसंस्कारलाई मलजल गरिरहेको बताए । ‘पछिल्लो समय कम्युनिस्ट पार्टीका नेता र मन्त्रीहरु नै यज्ञ र महायज्ञ उद्घाटन गर्छन्, अनि कसरी वैज्ञानिक र जीवनउपयोगी संस्कारको विकास हुन्छ,’ उनले प्रश्न गरे । हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकीले कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता भोटको राजनीतिमा लाग्दा पनि नेपाली समाजमा विद्यमान कुसंस्कारहरु हट्न नसकेको बताए ।

‘मैले जनै लगाइनँ, छोराछोरीको न्वारन, व्रतबन्ध गरिनँ, बुवाआमाको काजक्रिया र श्राद्ध गरिनँ भने जनताले भोट दिँदैनन् कि, चुनाव जितिँदैन कि भन्ने डर कम्युनिस्ट पार्टीका नेताहरुलाई नै छ,’ उनले भने, विगतदेखि चल्दै आएको नाममा हामीले नै गलत संस्कार र परम्परा अवलम्बन गर्दै गयौँ भने समाजमा कहिल्यै वैज्ञानिक र जीवनोपयोगी संस्कारको विकास हुन सक्दैन ।’

उनले सबैभन्दा पहिला गलत संस्कार छाड्ने हिम्मत कम्युनिस्ट पार्टीका नेता र कार्यकर्ताले गर्नुपर्ने बताए । कार्यक्रममा बिरु बलंम्पाकीले आमाको स्मृतिमा हरेक वर्ष माघ २९ गते लेखक तथा सांस्कृतिककर्मीलाई प्रदान गर्नेगरी राजकुमारी स्मृति पुरस्कार स्थापना गर्ने घोषणा गरे । पुरस्कारको राशि भने छलफलपछि तय गरिने उनले बताएका छन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहीबार ०८:४६