सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानुमान

अझै तीन दिन वर्षा नहुने, यस्तो हुनेछ आजको मौसम

अन्य वर्षको तुलनामा यो वर्ष तीनदेखि चार डिग्री सेल्यिससम्म तापक्रमसमय अगाडि नै वृद्धि भएको छ ।

अझै कम्तीमा तीन दिन पानी नपर्ने भएको छ । केही क्षेत्रमा छिटपुट वर्षा भए पनि देशभर ठूलो पानी पर्ने सम्भावना कम्तीमा तीन दिन नरहेको मौसमविद् राजु प्रधानाङ बताउँछन् ।

‘जल तथा मौसम विज्ञान विभागसँग तीन दिनसम्मको मात्रै मौसम कस्तो रहन्छ भनेर अध्ययन गर्न सक्ने मौसमी प्रणाली संयन्त्र रहेको मौसमविद् प्रधानाङले बताए ।

मौसमविद् प्रधानाङ भन्छन्, ‘तीन दिनभन्दा धेरै दिनको मौसमको अध्ययन नमिल्न पनि सक्छ । त्यसैले हामी तीन दिनभन्दा धेरैको मौसम यस्तो हुन्छ भनेर बताउन सक्दैनौँ । यदि, बतायौं भने पनि त्यो नमिल्न सक्छ ।’

यो वर्षको हिउँदमा पश्चिम नेपालका केही क्षेत्रमा छिटपुट मात्रामा वर्षा भए पनि अन्य भागमा वर्षा नभएको उनी बताउँछन् । वर्षा नहुँदा चाँडै तापक्रम पनि वृद्धि भएको मौसमविद् प्रधानाङको भनाइ छ ।

‘अन्य वर्षको तुलनामा यो वर्ष तीनदेखि चार डिग्री सेल्यिससम्म तापक्रमसमय अगाडि नै वृद्धि भएको छ,’ उनी भन्छन्, ‘समयमा पानी नपर्दा हिउँदे बालीमा त नकारात्मक प्रभाव पर्यो नै वातावरण प्रदूषण पनि बढेको छ । र, समयभन्दा अगाडि नै गर्मी पनि सुरु भएको छ ।’

पानी पर्दा हावामा रहेका धुलो र धुवाँ पानीले जमीनमा झार्ने र वायुमण्डल सफा हुने उनी बताउँछन् । तर, पानी नै नपरे पछि हावामा धुलो र धुवाँको कण हुँदा वायु प्रदूषण बढेको मौसमविद् प्रधानाङको भनाइ छ ।

पश्चिमी वायु सक्रिय सक्रिय नहुँदा पानी पर्न नसकेको हो । पश्चिमी वायुको आंशिक प्रभाव रहे पनि त्यो आवश्यक मात्रामा सक्रिय नहुँदा पानी पर्न नसकेको मौसमविद् प्रधानाङको भनाइ छ ।

कुन प्रदेशमा कस्तो हुनेछ आजको मौसम ?

जल तथा मौसम विज्ञान विभागले आज बिहान प्रदेश–१ लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रहेको जनाएको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो प्रदेश–१ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने विभागको भनाइ छ । बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश–१ र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश–१ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

विभागले आज राति प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश–१ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको भनाइ छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहीबार ०८:३३