सूचनाको शक्ति - The Power Of Information

        

तीस लाख रुपैयाँ राखेको दराज मर्मतमा दिएपछि…

एक स्टिल फर्निचर मर्मत केन्द्रका मालिक र उनका छोरा चोरी आरोपमा पक्राउ परेका छन् । कपिलवस्तु नगरपालिका १ का फलफूलका थोक व्यापारी सनी उल्लाह कुजाडाले आफ्नो बिग्रेको दराज मर्मत गर्न फागुन १ गते श्रीमती रेशमा कुजडामार्फत सो मर्मत केन्द्रमा दराज दिएका थिए ।

केही दिन अघि फलफूल व्यापारी कुजडाले आफ्नी श्रीमती रेशमालाई ३० लाख रुपैयाँ नगद राख्न दिएका थिए । रेशमाले सो रकम त्यही दराजको लकरमा राखेकी थिइन् । फलफूल व्यापारीको घरमा विवाह परेकोले सबै जना त्यसैमा व्यस्त थिए । दराजको लकरमाथि समेत साढे चार लाख रकम राखिएको थियो । जुन रकम रेशमाले निकालेर घरमै राखेकी थिइन् ।

रेशमाले सो दराज मर्मत गर्न फर्निचर मर्मत केन्द्रमा पठाइन् । तर लकरमा रहेको ३० लाख रुपैयाँ भने निकाल्न बिर्सिइन् । फागुन ४ गते फलफूल व्यापारी सनी उल्लाहले सो पैसा श्रीमतीसँग माग्दा सबै पैसा मर्मत गर्न पठाएको दराजमै रहेको बताइन् । त्यसको केही बेरमै व्यापारी सनी र उनका भाइसहित मर्मत केन्द्रमा पुगेर पैसा दिन आग्रह गरे ।

तर फर्निचर मर्मत व्यापारी एस मोहम्मद् फकिरले आफूलाई त्यसबारे केही जानकारी नभएको बताए । फलफूल व्यापारीले तत्कालै तौलिहवा वडा प्रहरी कार्यालयमा मौखिक उजुरी दिए । उजुरी लगत्तै फर्निचर मर्मत केन्द्रका मालिक एस माहोम्मदको घरमा खानतलासी गर्दा २४ लाख ७७ हजार नगद फेला परेको प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेतले बताए ।

फर्निचर मर्मत व्यापारीले केही पैसा खर्च भएको प्रहरी समक्ष बयान दिएका छन् । एस मोहम्मद र निजको छोरा वर्ष २१ को इसराज फकिरलाई पक्राउ गरी अनुसन्धान कार्य भइरहेको प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिए । दुवैमाथि चोरीको मुद्दा लगाइएको उनले बताए । फलफूल व्यापारी र फर्निचर मर्मत केन्द्रका मालिकबीच आपसी मित्रता रहेको थियो ।

मर्मत केन्द्रमा काम गर्ने मिस्त्रीले सो दराज मर्मत गर्दा लकरमा रकम देखेपछि आफ्नो बुवालाई फोन गरेर के गर्ने भनी सोधेका थिए । उनका बुवाले सो रकमबारे फर्निचर मर्मतका मालिकलाई जानकारी दिन भनेका थिए । त्यसपछि सो रकम फर्निचर मर्मत केन्द्रका मालिकले घरमा लुकाएका थिए । मिस्त्रीलाई एक हप्ताको छुट्टीसमेत दिएका थिए ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार १८:४१