सूचनाको शक्ति - The Power Of Information

        

गर्लफ्रेन्ड र छोरासहित सरकारी रकममा भुवनको मस्ती, ३० लाख स्वाहा !

नेपाली चलचित्र प्रवर्धन गर्न सरकारको ३० लाख आर्थिक सहयोगमा दुबइमा भएको नेपाल फेस्ट केही कलाकार, केही पत्रकार, केही चलचित्र विकास बोर्डका पदाधिकारी अनि केही सञ्चार मन्त्रालयका कर्मचारी सहभागी भए ।

चार दिनसम्म चल्ने फेस्टका लागि चलचित्र विकास बोर्डले मानव तस्करी र वैदेशिक रोजगार ठगीमा मुछिएको सूर्य कर्पोरेसनलाई ३० लाखमा जिम्मा दिएपछि अधिकांश कलाकारहरूले फेस्टको विरोध गरेका थिए ।

अनुमति नै नलिई फिल्म प्रदर्शन गर्न खोज्दा महापुरुष टिमले सार्वजनिक रूपमा आपत्ति जनायो भने वरिष्ठ कलाकार निर शाह र कलाकार विजय लामाले अनुमति नै नलिई कार्यक्रमको पोस्टरमा तस्बिर राखेको भन्दै आपत्ति जनाए ।

फिल्म क्षेत्रमा चौतर्फी विरोध भए पनि आफ्नो व्यापारिक साझेदारी समेत रहेको विवादित कम्पनीसँगको सहकार्य तोड्न चाहेनन् बोर्ड अध्यक्ष भुवन केसीले । सरकारी रकम छोरा तथा कलाकार अनमोल केसी अनी आफूसँग लिभिङ टुगेदरमा बसेकी जिया केसीलाई लिएर उनी दुबई पुगेका थिए ।

उनीसँगै कलाकार उपासनासिंह ठकुरी, ऋचा शर्मा, शिव श्रेष्ठ, बोर्ड सदस्य राज कटुवाल, प्रशान्त ताम्राकार, निर्देशक रामबाबु गुरुङ, अर्जुन कुमार निर्देशक भूषण दाहाल सूर्य कर्पोरेसनको अतिथि बनेर फेस्टमा सहभागी भए । हास्य कलाकार सन्दीप क्षेत्री लामो समयदेखि विवादित कम्पनीको कार्यक्रममा सहभागी हुँदै आएका छन् ।

उनी यस पटक पनि दुबइ गए । हल सञ्चालक नकिम उद्दिन, निर्माता रामकृष्ण पोखरेल, वितरक तथा निर्माता गोविन्द शाही, पनि सहभागी थिए । ‘चिप्ल्याउने अंकल’को रुपमा परिचित कार्यक्रम सञ्चालक प्रकाश सुवेदी श्रीमतीसहित नेपाली फिल्म प्रमोसन गर्न दुबई पुगेका थिए । उनीहरूसँगै केही पत्रकार र केही युट्युबवर दुबई पुगेका थिए ।

दुबइको होटेल होलिडे इनमा कस्तो कार्यक्रम भयो दुबइका सञ्चारमाध्यमहरूमा समाचार भेटिएन । नेपाली मिडियामा पनि नेपाली फेस्टबारे न्यून समाचार मात्र फेला परे । बरु सामाजिक सञ्जाल फेस्टको बहानामा दुबई पुगेका परिवारको तस्बिरले बढी भरिएको थियो ।

फेस्टमा सहभागीहरूको तस्बिरले दुबईमा नेपाली फिल्मको लोकेसन भन्दा दुबईको लोकेसनको प्रमोसन गरिरहेको थियो । चार दिन भएको फेस्ट सक्किएपछि भुषणसहितका केही पाहुना नेपाल फर्किसकेका छन् । केही उतै घुमघाम गरेर नेपाली फिल्म प्रमोशनमा ब्यस्त छन् ।

कलाकारमै फुट, दुबइका कलाकार आएनन्

जापानमा साङ्गीतिक र चलचित्र अवार्ड सम्बन्धी कार्यक्रम गर्दै आएको सूर्य कर्पोरेसन अवैध रूपमा मानव ओसारपसारमा संलग्न रहेको खुलेपछि नेपाली चलचित्रको विदेशमा प्रवर्धन गर्न उसैलाई जिम्मा दिने बोर्डको सम्झौतापछि कलाकारहरू नै विभाजित भएका थिए ।

अरू त अरू केसीलाई बोर्डको अध्यक्ष बनाउन सक्रिय पहल गरेका वरिष्ठ कलाकार निर शाहले समेत सो कार्यक्रमप्रति असहमति जनाउँदै कार्यक्रममा सहभागी भएनन् । दुबइमा कार्यक्रम गरेर नेपाली फिल्मको बजार खोज्ने र त्यहाँका फिल्म निर्माणमा संलग्नहरूसँग अन्तरक्रिया गरेर नेपालमा फिल्म सुटिङमा आउन प्रोत्साहित गर्ने दाबी गरिएको थियो ।

तर कार्यक्रममा दुबइका कुनै कलाकार र फिल्म निर्माणमा संलग्नहरू सहभागी नै भएनन् । दुई नेपाली फिल्म प्रदर्शन गर्दा हलमा दुबइमा बसेका नेपाली र नेपालबाट गएकाहरू मात्र सहभागी भएका थिए । नेपाली फिल्म प्रदर्शन गर्न विश्वसनीय कम्पनी फेला नपरेपछि बोर्डले नेपाली कामदारहरू लैजाने एक कम्पनीसँग सम्झौता गरेर फर्किएको सो फेस्टमा सहभागीले जानकारी दिए ।

स्रोत : उकेराबाट
प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार १८:२७