सूचनाको शक्ति - The Power Of Information

        

डीआइजी अशोक सिंहले दिए राजीनामा, आइजीपीको रिङ्गबाट आउट

भावी प्रहरी प्रमुखको दावेदार मानिएका प्रहरी नायव महानिरीक्षक (डीआइजी) अशोक सिंहले राजीनामा दिएका छन् । नागरिकतामा जन्ममिति नमिलेपछि छानविनमा परेका डीआइजी सिंहले बुधबार राजीनामा दिएका हुन् ।

हाल सुदूपश्चिम प्रदेश प्रहरी कार्यालयका रुपमा प्रमुख सिंहले प्रहरी प्रधान कार्यालय पुगेर राजीनामा बुझाएका हुन् । सिंहले पेश गरेको २२ जेठ २०४२ मा जारी नागरिकता प्रमाण पत्रको प्रतिलिपिमा उनको उमेर १८ वर्ष उल्लेख छ ।

जिल्ला प्रशासन कार्यालय, कैलालीबाट जारी नागरिकता अनुसार उनको जन्ममिति २०२४ हुनुपर्ने हो । तर, प्रहरी प्रधान कार्यालयको विवरणमा उनको नागरिकता अनुसार जन्ममिति २२ जेठ २०२४ उल्लेख छ ।

नागकितामा उमेर विवादमा परेपछि डीआइजी सिंहमाथि छानविन सुरु भएको छ । सोही क्रममा उनले राजीनामा दिएका हुन् । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख रहेका सिंहको नागरिकता र प्रहरी सिटरोलमा रहेको उमेर फरक–फरक भेटिएको थियो ।

२०५१ चैत ५ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका सिंह प्रहरी प्रमुखको दावेदारका रुपमा हेरिएको थियो । तर, एआइजीमा जानु्अघि उनी नागरिकता विवादमा मुछिएपछि राजीनामा दिन बाध्य भएका हुन् ।

यसअघि सिंहले प्रतिसोधका आधारमा जन्ममिति सम्बन्धी विवादमा आफूलाई दाबी गर्दै आएका थिए । सिंह एआइजीमा बढुवा हुने लाइनका मध्ये एक थिए । यसपटक एआएजी हुनेहरुबाटै आइजीपी बन्ने सम्भावना थियो ।

तर, सिंह भने भावी आइजीपीको लाइनबाट यस घटनाक्रमबाटै बाहिरिएका छन् । सिंहले बुझाएको राजीनामा गृह मन्त्रालय पठाइएको छ । प्रहरी प्रवक्ता पोषराज पोखरेलले डीआइजी सिंहको राजीनामा स्वीकृतिका लागि गृह मन्त्रालयमा पठाएको जानकारी दिए ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार १८:१३